सुर्खेत।
नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको यो निर्णयसँगै उनको कर्णाली प्रदेश सभा सदस्य पदसमेत खारेज हुने प्रक्रिया अघि बढाइएको छ। पार्टीका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार शर्मामाथि गरिएको कारबाहीसम्बन्धी औपचारिक पत्र बुधबार नै कर्णाली प्रदेश सभा सचिवालयमा पठाइएको छ।
अब प्रदेश सभा नियमावली तथा दलसम्बन्धी कानुनी प्रावधानअनुसार उनको सदस्यता कायम रहने वा खारेज हुने विषयमा प्रक्रिया अगाडि बढ्नेछ। २०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन्।
उनी कर्णाली प्रदेश सरकारको नेतृत्व गरिसकेका पूर्वमुख्यमन्त्री हुन्। शर्मालाई किन र कुन आधारमा निष्कासन गरिएको हो भन्ने विषयमा पार्टीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। तर स्रोतका अनुसार पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद र अनुशासनसम्बन्धी विषयमा असहमति चर्किंदै गएको थियो।
यस घटनाले कर्णाली प्रदेशको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने देखिएको छ। प्रदेश सभामा सत्ता–विपक्षको अंकगणितमा पनि यसको प्रभाव पर्ने सम्भावना रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।











प्रतिक्रिया