रोमाञ्चक सुपरओभरमा दक्षिण अफ्रिका विजयी


लन्डन, (एजेन्सी) ।

दक्षिण अफ्रिकाले टी २० विश्वकपको इतिहासमा पहिलो पटक दुई सुपर ओभर भएको खेल जितेको छ । बुधबार अहमदाबादमा भएको उक्त खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको हो । यो अफ्रिकी टोलीको दोस्रो जित हो भने अफगानिस्तानको दोस्रो हार हो ।

पहिलो निर्धारित ओभरमा भएको खेल टाइ भएपछि नतिजाको लागि सुपरओभर भएको थियो । जसमा, दुबै टोलीले १७–१७ रन जोड्दा फेरि एकपटक नतिजा अनिर्णित हुन पुग्यो ।

दोस्रो सुपरओभरमा डेभिड मिलरले ४ बलमा १६ रन जोडेपछि दक्षिण अफ्रिकाले २३ रन जोडेको थियो । अफगानिस्तानले यसको जवाफमा १९ रन मात्रै बटुल्न सकेको थियो । अफगानिस्तानका लागि गुरबाजले केशव महाराजको बलिङमा ३ छक्का प्रहार गरेपनि अन्तिम बलमा भने आउट भए ।

यसअघि दक्षिण अफ्रिकाले क्विन्टन डी कक (५९रन) र रायन रिकेल्टन (६१रन) को अर्धशतकको सहयोगमा ६ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । जवाफमा गुरबाजले ४२ बलमा ८४ रनको सानदार इनिङ खेले । तर, उनको टोली १ सय ८७ रनमै रोकिनु परेको थियो ।

अन्तिम ओभरमा १ विकेट बाँकी रहेको अफगान टोलीका लागि १३ रन जितको आवश्यक थियो । जसमा कागिसो राबाडाले दुई नो बल फयाँक्दा विकेट पनि मिलेन । अन्तिममा फजलहक फारुकी रनआउट भए । जसले गर्दा खेल सुपरओभरमा पुग्यो ।
गत टी २० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सहजै पराजित गरेको थियो । सो खेलमा दक्षिण अफ्रिकाले अफगान टोलीलाई केवल ५६ रनमा अलआउट गरेको थियो । तर, यसपटक भने यही टोलीले दक्षिण अफ्रिकालाई कडा चुनौती दियो ।

तीन सुपरओभर
पुरुषको टी २० विश्वकपमा पहिलो पटक दुई सुपरओभर भएपनि टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटक सुपरओभर भएकोे कीर्तिमान छ । जनवरी २०२४ मा भएको खेलमा दुई सुपरओभर टाइ भएपछि तेस्रो सुपरओभरमा भारतले अफगानिस्तानलाई पराजित गरेको थियो ।

अर्को तीन पटक सुपर ओभर भएको खेल नेपाल र नेदरल्यान्ड्सबीचको खेल थियो । यो खेल गत वर्ष जुनमा भएको थियो । जसमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो ।

अफगानिस्तान लगभग बाहिरियो
लगातार दुई हारपछि अफगानिस्तान समूह चरणबाटै बाहिरिने लगभग तय छ । अफगानिस्तानले बाँकी दुई खेल क्यानडा र यूएईसँग खेल्नेछ । यी दुबै खेलमा जित हासिल गरेपनि रसिद खानको टोली नकआउट चरणमा पुग्न सक्ने छैन । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको दुई जितसँगै समान ४ अंक रहेको छ । साथै यी दुईबीच खेल्ने खेलमा एक टोलीको ६ अंक हुने पक्का छ । अर्को न्युजिल्यान्डको क्यानडा र दक्षिण अफ्रिकाको यूएईसँग खेल्ने हुँदा यी खेलहरूमा अप्रत्यासित नतिजा शायदै निस्कनेछ ।