काठमाडौँ
सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपियाँ अंकित दरका १० लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको हो । यस निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस सम्बन्धमा २०८२ साल माघ २७ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
वि.सं. २०४३ साल माघ ११ गते स्थापना भई २०४६ सालदेखि औपचारिक रूपमा उत्पादन सुरु गरेको सिद्धार्थ फर्मास्युटिकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादनमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ । कम्पनीले डब्लुएचओ–जिएमपी (विश्व स्वास्थ्य संगठन–गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्रमाणपत्र प्राप्त गरेको छ ।
‘कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस्’ भन्ने मूल लक्ष्यसहित अघि बढिरहेको कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा अवस्थित छ । उक्त प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया डब्लुएचओ–जिएमपी मापदण्डअनुरूप रहेको कम्पनीले जनाएको छ । ग्राहकको आवश्यकता पूरा गर्दै उच्चतम गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले कम्पनीका सबै इकाइहरूमा विश्वस्तरीय तथा अत्याधुनिक उपकरण जडान गरिएका छन् ।











प्रतिक्रिया