ईप्रका खैरहनीका इन्चार्ज इन्स्पेक्टर प्रदीप महत जबर्जस्ती करणी आरोपमा पक्राउ


चितवन ।

इलाका प्रहरी कार्यालय (ईप्रका) खैरहनी, चितवनका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप महत जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्। उनीविरुद्ध परेको किटानी जाहेरीका आधारमा पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय (जिप्रका) चितवनको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पीडितले दिएको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। आरोपित इन्स्पेक्टर महतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप प्रमाण संकलन तथा बयान लिने कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई जिम्मेवारीबाट हटाइएको स्रोतले बताएको छ। प्रहरी प्रधान कार्यालयले पनि घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष र पारदर्शी छानबिन गर्न निर्देशन दिएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार, घटनाबारे थप अनुसन्धानपछि मुद्दा दर्ता प्रक्रिया अघि बढाइनेछ। “कानूनभन्दा माथि कोही पनि छैन। दोषी प्रमाणित भए कडा कारबाही हुन्छ,” प्रहरी अधिकारीले बताएका छन्। यस घटनाले प्रहरी संगठनभित्र अनुशासन र नैतिकताको विषयमा पुनः प्रश्न उठाएको छ। मानवअधिकारकर्मीहरूले पीडितलाई न्याय सुनिश्चित गर्न र छानबिन प्रक्रियालाई प्रभावमुक्त बनाउन माग गरेका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।