ब्रिटिश कोलम्बियाको विद्यालयमा गोलीकाण्ड : १० जनाको मृत्यु, २५ घाइते


काठमाडौं ।

पश्चिमी क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा भएको भीषण गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयल क्यानेडियन माउन्टेड प्रहरीले घटनाको पुष्टि गर्दै उत्तरपूर्वी क्षेत्रस्थित टम्बलर रिज माध्यमिक विद्यालयमा छ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार एक जना घाइतेलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। यससँगै घटनासँग सम्बन्धित अर्को स्थानबाट दुई जनाको शव बरामद गरिएको छ। ती घटनाहरू आपसमा सम्बन्धित रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनामा करिब २५ जना घाइते भएका छन्।

घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रहरीले घटनास्थल नजिकै अर्का एक व्यक्तिको शव फेला पारेको छ, जसलाई गोली चलाउने संदिग्ध व्यक्ति भएको विश्वास गरिएको छ।

यद्यपि, घटनाको विस्तृत कारण र पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ भने विद्यालय क्षेत्र सिल गरिएको छ। घटनापछि समुदायमा त्रास फैलिएको छ। क्यानडाका उच्च अधिकारीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।