सुशासन बिना लोकतन्त्र सुदृढ हुन सक्दैन : राष्ट्रपति


काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक पदाधिकारीको कार्यसंस्कृतिमा हुने सकारात्मक परिवर्तनले प्रशासनिक क्षेत्रलाई पनि मार्गदर्शन गर्ने बताए।

लोकतन्त्र सुदृढीकरणप्रति युवा पुस्ताले व्यक्त गरेको चाहनालाई स्मरण गर्दै उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्न नसक्ने उल्लेख गरे। संवृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै सार्वजनिक शक्ति व्यक्तिको स्वार्थमा प्रयोग हुँदा राज्यप्रतिको जनविश्वास कमजोर हुने बताए। भ्रष्टाचार सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको उल्लेख गर्दै उनले यसको नियन्त्रण संयुक्त प्रतिबद्धताबाट मात्र सम्भव हुने धारणा राखे।