भ्रष्टाचार नियन्त्रण सुशासनको पहिलो शर्त : प्रधानमन्त्री कार्की


काठमाडौँ ।

काठमाडौँमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताएकी छन्। उनले भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी सरकार र कार्यकारी निकायको भएको स्पष्ट पार्दै कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुनुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउन राहदानी र नागरिकता सेवामा सरलीकरण गरेको दाबी गरिन्। साथै, आगामी फागुन २१ गते हुने निर्वाचनलाई सदाचार र सुशासन स्थापनाको ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गर्दै स्वच्छ छवि भएका प्रतिनिधिहरू चयन गर्न सबैमा अपिल गरिन्।

उनले प्रतिनिधि सभालाई योग्य, नैतिकवान र भ्रष्टाचारविरुद्ध स्पष्ट अडान भएका जनप्रतिनिधिहरूको थलो बनाउन आवश्यक रहेको उल्लेख गरिन्। विगतका राजनीतिक अस्थिरता र भ्रष्टाचारका घटनाले निराशा बढाए पनि आगामी निर्वाचनले नयाँ आशा जगाउने विश्वास व्यक्त गरिन्।