बजेटको अर्धवार्षिक समीक्षा : पौने ३ खर्ब बजेट कटौती

सवा खर्बका आयोजना स्थगित


काठमाडौं ।

सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट १४.०४ प्रतिशत कटौती गरेको छ । १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट विनियोजन गरिएकोमा अब १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख मात्र खर्च हुने संशोधित अनुमान गरिएको छ । मंगलबार बजेटको अर्धवार्षिक समीक्षामार्फत कुल खर्च अनुमानमा कटौती गरिएको हो ।

संशोधित अनुमानअनुसार सबै शीर्षकमा खर्च घट्ने देखिएको छ । चालु खर्चतर्फ सुरुमा ११ खर्ब ८० अर्ब रुपियाँ विनियोजन गरिएकोमा संशोधित अनुमान ११ खर्ब २५ अर्ब रुपियाँ मात्रै रहने उल्लेख छ, अर्थात् ५५ अर्ब रुपियाँ कम खर्च हुने देखिएको छ । पुँजीगत खर्चमा भने ठूलो कटौती गरिएको छ। प्रारम्भिक बजेटमा ४ खर्ब ७ अर्ब रुपैयाँ छुट्याइएकोमा अहिले २ खर्ब ४३ अर्ब रुपियाँ मात्रै खर्च हुने अनुमान गरिएको छ, जसअनुसार १ खर्ब ६४ अर्ब रुपैयाँ घटेको छ । वित्तीय व्यवस्थापनतर्फ सुरुमा ३ खर्ब ७५ अर्ब रुपियाँ विनियोजन गरिएकोमा संशोधित अनुमान ३ खर्ब १९ अर्ब रुपियाँ रहने भएकाले यस शीर्षकमा ५६ अर्ब रुपियाँ कम हुने देखिएको छ ।

आम्दानीतर्फ आन्तरिक ऋण र राजस्वबाट सुरुमा १६ खर्ब ७७ अर्ब ३ करोड रुपियाँ उठाउने लक्ष्य राखिएकोमा संशोधित अनुमान १५ खर्ब १५ अर्ब रुपियाँ मात्रै रहने देखिएको छ, अर्थात् १ खर्ब ६२ अर्ब रुपियाँ कम हुने अनुमान गरिएको छ । वैदेशिक अनुदानतर्फ ५३ अर्ब रुपियाँ अनुमान गरिएकोमा संशोधित रूपमा ३१ अर्ब रुपैयाँ मात्रै प्राप्त हुने देखिएको छ, जसले गर्दा २३ अर्ब रुपियाँ कमी देखिन्छ ।

यसैगरी वैदेशिक ऋणतर्फ सुरुमा २ खर्ब ३६ अर्ब रुपियाँ लिने लक्ष्य राखिएकोमा अहिले १ खर्ब ४१ अर्ब रुपियाँ मात्रै परिचालन हुने अनुमान गरिएको छ, जसअनुसार ९५ अर्ब रुपियाँ कम हुने देखिएको छ । गत आवमा पनि सरकारले १८ खर्ब ६० अर्ब ६० करोडको बजेट निनियोजन गरेकोमा अर्धवार्षिक समीक्षामार्फत कटौती गरेर १५ खर्ब १३ अर्ब २४ करोड खर्चको अनुमान गरेको थियो । चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा राख्ने लक्ष्य बजेटको संशोधित अनुमान गरिएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बजेट ल्याउँदा आय–व्ययको अनुमान अस्वाभाविक रूपमा बढाइएको र पूर्वतयारी नसकिएका आयोजनाहरू समावेश गरिएका कारण घटाउनुपरेको बताउनुभएको छ । अर्थमन्त्रीका अनुसार पूर्वतयारी नभएका १ खर्ब १९ अर्ब रुपियाँ बराबरका आयोजना स्थगित गरिएका छन्, जसमध्ये ४२ अर्ब रुपियाँ बराबरका आयोजनाको बजेट भने फुकुवा भइसकेको छ । सोमबार मात्रै १ अर्ब ७२ करोड रुपियाँ रकमान्तर गरिएको थियो । त्यस्तै पुस मसान्तसम्म ५ खर्ब ८१ अर्ब ४० करोड रुपियाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८१.७५ प्रतिशत हो । यस अवधिमा विप्रेषण ३९.१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपियाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति २२.४७ अर्ब डलर पुगेको छ ।

समीक्षा अवधिसम्म कुल २ खर्ब १४ अर्ब ५५ करोड रुपियाँ सार्वजनिक ऋण परिचालन भएको छ, जुन वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो। आन्तरिक ऋणतर्फ प्रगति ४९.०८ प्रतिशत रहे पनि बाह्य ऋण परिचालन १५.७९ प्रतिशतमा सीमित छ । यस अवधिमा सार्वजनिक ऋण सेवा खर्च १ खर्ब ८७ अर्ब १२ करोड रुपियाँ पुगेको छ ।

सरकारले आन्दोलनबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, घाइते उपचार, राहत तथा सहिद परिवारलाई सहायता, निर्वाचन व्यवस्थापन र सुरक्षा निकायको बजेटलाई उच्च प्राथमिकता दिएको छ । तयारी नभएका साना तथा टुक्रे आयोजनाको बजेट रोक्का गरी प्राथमिकता प्राप्त क्षेत्रमा रकमान्तर गर्ने नीति लिइएको छ ।

यसैगरी २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २३ वटा कार्यान्वयनमा छन् । पुस मसान्तसम्म विनियोजित बजेटको १५.४८ प्रतिशत अर्थात १० अर्ब ३९ करोड रुपियाँ मात्र खर्च भएको छ । यस वर्ष ६८ अर्ब बजेट विनियोजन गरिएको थियो । राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल राजमार्ग ८१.७३ प्रतिशत, हुलाकी राजमार्ग७४.३५ प्रतिशत।काठमाडौं–तराई द्रुतमार्गको ४२.१३ प्रतिशत भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ ।

सरकारले खरिद कानुन पुनरावलोकन, आयोजना बैंकलाई बजेट प्रणालीसँग जोड्ने, नगदरहित भुक्तानी विस्तार, अनावश्यक बजेट उपशीर्षक कटौती तथा अन्तरसरकारी वित्त व्यवस्थापन सुधार गर्ने जनाएको छ । अर्थ मन्त्रालयले बाँकी अवधिमा खर्चको पुनःप्राथमिकरण, मितव्ययिता र नतिजामुखी कार्यान्वयनमार्फत बजेट कार्यान्वयनलाई लयमा फर्काउने दाबी गरेको छ ।
त्यस्तै प्रदेश र स्थानीय तहलाई ४ खर्ब १८ अर्ब अनुदान, जसमध्ये पुससम्म ३९.१४ प्रतिशत प्रदेश र ४७.६० प्रतिशत स्थानीयमा हस्तान्तरण भएको छ । राजस्व बाँडफाँटबाट ६९ अर्ब १५ करोड उपलब्ध गराइएको छ । उक्त अवधिमा प्रदेशको खर्च १४.१६ प्रतिशत, स्थानीय तहको ५६.८२ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।