रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित त्रिवेणी नजिकै मंगलबार बिहान भएको भीषण बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ९९७५ नम्बरको अरनिको यातायातको बस बिहान करिब १० :३० बजे अनियन्त्रित भई सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।
मृत्यु हुनेहरूमा एकै परिवारका ४ सदस्य समेत रहेका छन् । दुर्घटनामा बसका साहु (धनी) को पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकहरुलाई मन्थली नगर अस्पतालमा राखिएको छ । पोष्टमाटम पश्चात् परिवारलाई शव बुझाउने अस्पताल प्रशासनले जनाएको छ ।
दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्, जसमध्ये ७ जनालाई थप उपचारका लागि तत्काल काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटना लगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका थिए । नदीमा बस खसेको र भिरलो ठाउँ भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उद्दारमा खटिएका प्रहरी अधिकारीले जनाएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोडमा गाडीको गति अत्यधिक (ओभर स्पिड) भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ । घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई मन्थलीको एक स्थानीय अस्पतालमा उपचार गराइरहेको छ ।
गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन तथ्यांक अझै खुल्न सकेको छैन । हाल घटनास्थलमा खोजी र उद्धारको कार्य जारी रहेको र मृतकको सनाखत गर्ने प्रक्रिया भइरहेको प्रहरीले बताएको छ । यो समाचार तयार पार्दा सम्म १० जना मृतक र ८ जना घाईतेको सनाखत भएको थियो ।











प्रतिक्रिया