हेटौंडा । केही दिनदेखि मकवानपुरको मनहरी गाउँपालिकाअन्तर्गत हाँडीखोला र हेटौंडा–१९ सानान्टार क्षेत्रमा गैंडा देखिएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयको अनुरोधमा पर्सा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा हात्तीले गैंडालाई सुरक्षितरुपमा उसको बासस्थान पठाउने प्रयास गरेको थियो ।
मनहरी गाउँपालिका–३, लामीटारको भोटेखोल्सीमा भेटिएको गैंडालाई दुईवटा हात्ती र तीनवटा ट्याक्टरले प्रतापपुरको जंगलतर्फ लैजाने प्रयास गरे पनि सफल हुन सकेन । सेना, प्रहरीसहित स्थानीयको सहयोगमा पर्सा राष्ट्रिय निकुञ्जको टोलीले गैंडालाई सुरक्षित रुपमा कोर एरियामा लैजान हात्ती र ट्याक्टरको प्रयोग गरेको थियो तर सफल नहुँदा स्थानीय अझै त्रसित छन् । गैंडा मनहरी गाउँपालिका–९ जैसिङ खरंगाको जंगलभित्र पसेपछि हात्तीसहित टोली गैंडा कुरेर बसेको थियो । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत लामीटार पोस्टका रेन्जर प्रणय झाले दिनभरको समय लगाएर गैंडालाई गाउँबाट सुरक्षितरुपमा कोर एरियामा लैजाने प्रयास गरे पनि सफल हुन नसकेको बताउनुभयो ।
उक्त गैंडा मनहरी–६ स्थित प्रतापपुरको जंगलबाट आएको हुनसक्ने अनुमान गरिएको छ । ‘समूहबाट छुट्टिएर गाउँमा पसेको भन्ने हाम्रो अनुमान छ, धनजन क्षति हुन नदिने र गैंडालाई सुरक्षित उसको बासस्थानमा पठाउन हामीले प्रयास गरेका हौँ’, उहाँले भन्नुभयो– ‘यस कार्यमा हामीलाई सेना, प्रहरीसहित स्थानीयबाट समेत सहयोग प्राप्त भएको थियो ।’
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत उज्ज्वल भविष्य मध्यवर्ती उपभोक्ता समिति सचिव जयराम रिजालले गैंडालाई बस्तीबाट बासस्थान लैजान निकुञ्जसँग आवश्यक समन्वय र सहकार्य भएको बताउनुभयो । ‘दुईवटा हात्तीसहित टोलीलाई स्थानीय तीनवटा ट्याक्टरसमेत लगाएर लामीटारबाट मनहरी–९ को जैसिङसम्म पु¥याइएको हो’, रिजालले भन्नुभयो । उहाँले साँझ–बिहान बाहिर ननिस्कन र गैंडा वा अन्य कुनै जंगली जनावर देखिए समिति र निकुञ्जलाई खबर गर्न अनुरोध गर्नुभयो ।











प्रतिक्रिया