अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सर्वेक्षण पुस्तक सार्वजनिक

564
Shares

लमजुङ ।

पूर्वि लमजुङको राइनास नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक तथा आर्थिक अवस्था समेटिएको जीवनस्तर सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । ग्रामीण अपाङ्ग समाज नेपाल, लमजुङले शनिबरा बेसीशहरमा आयोजित कार्यक्रममा राइनास नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सर्वेक्षण प्रतिवेदन–२०८२ शीर्षकको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

एबिलिस नेपाल नेटवर्क, काठमाडौं तथा एबिलिस फाउन्डेशन, फिनल्याण्डको सहयोगमा गरिएको उक्त सर्वेक्षणमा राइनास नगरपालिकाभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक अवस्था, आर्थिक स्थिति तथा सेवामा पहुँच सम्बन्धी विस्तृत तथ्याङ्क समावेश गरिएको छ ।

कार्यक्रममा प्रतिवेदनका मुख्य विषयवस्तु तथा अध्ययनका निष्कर्षबारे एबिलिस फाउन्डेशनका नेपाल प्रतिनिधि डा. विरेन्द्रराज पोखरेलले संक्षिप्त प्रस्तुतीकरण दिनुभएको थियो । ग्रामीण अपाङ्ग समाज–नेपालका अध्यक्ष प्रकाश चिलुवालले प्रतिवेदनले स्थानीय तहको नीति, कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक अवस्थालाई बुझेर प्रभावकारी योजना बनाउन यस प्रतिवेदन उपयोगी हुने छ ।

कार्यक्रममा सहभागीहरुले यस्ता सर्वेक्षण अन्य स्थानीय तहहरुमा पनि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्राप्त तथ्याङ्कका आधारमा स्थानीय सरकारले ठोस कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त प्रतिवेदनले स्थानीय तहलाई अपाङ्गमैत्री नीति तथा कार्यक्रम निर्माण गर्न, सेवा सुविधामा पहुँच अभिवृद्धि गर्न र समावेशी विकासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।