काठमाडौं ।
पर्दामा खुङ्खार खलनायकका रूपमा प्रस्तुत भए पनि वास्तविक जीवनमा सधैँ दिल्लगी र रमाइलो गरेर सबैलाई हँसाउने विख्यात अभिनेता सुनील थापाले अब कहिल्यै हँसाउनुहुने छैन । न त पर्दामा फेरि डरलाग्दो खलपात्रका रूपमा नै देखिनु हुनेछ ।
खासगरी नकारात्मक पात्र बनेर सबैको मन जित्दै आउनुभएका होनहार अभिनेता थापाले शनिवार बिहान यो धर्तिबाट सधैंका लागि विश्राम लिनुभएको छ । शुक्रवार राती ‘राम नाम सत्य’ नामक फिल्मको सुटिङ गरी शंखमूलस्थित आप्mनो अपार्टमेन्टमा आराम गरेका ६८ वर्षीय सुनीलले कलाकार तथा निर्देशक विल्सन विक्रम राईलाई मोबाइल कुराकानीमा शनिवार बिहान चाँडै उठाइदिन भन्नुभएको थियो । तर न कलाकार राईले चाँडै उठाउन सक्नुभयो, न त सुनील आपैmँ नै उठ्नुभयो ।
उहाँ अध्यक्ष रहेको एभरेस्ट फिल्म एकेडेमीका सहयोगी विष्णुले अपार्टमेन्टमा पुगी हेर्दा बेहोस अवस्थामा रहेको पाएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालले शनिवार बिहान साँढे ६ बजे उहाँलाई मृत घोषणा गरेको थियो ।
सुनीलले पछिल्लो समयमा ‘राम नाम सत्य’, ‘पहाड’, ‘हृदयभरि’बाहेक नयाँ फिल्ममा काम गर्नुभएको छ । उहाँ नेपाली फिल्ममा स्थापित हुनुअघि नै बलिउड फिल्ममा जमिसकेका कलाकार हुनुहुन्छ । मुम्बईमा रहेर मोडलिङबाट करियर सुरु गरेका थापा कुशल फुटबल खेलाडी र फोटो पत्रकारसमेत हुनुहुन्थ्यो । २०३८ सलामा बलिउड फिल्म ‘एक दुजेके लिए’बाट फिल्मी करियर सुरु गरेका सुनीलले पहिलो फिल्मबाटै भारतमा वाहवाही पाउनुभयो ।
त्यसपछि उहाँ ‘आजकी आवाज’, ‘मानव हत्या’, ‘मनु द ग्रेट’, ‘अलबेला’, ‘नसिबवाला’जस्ता हिन्दी फिल्मका विभिन्न भूमिकाबाट दर्शकको मन जित्न सफल हुनुभयो । हिन्दी फिल्म खेल्दा खेल्दै उहाँ नेपाली फिल्म ‘मशाल’मा पनि देखिनुभएको थियो । २०४६ सालमा तुलसी घिमिरेको फिल्म ‘चिनो’मा राते काईंलाका रूपमा देखिएपछि भने सुनीलको करियरमा कायापलट भयो । सो फिल्मको खुङ्खार खलनायकका रूपमा प्रस्तुत भएका सुनीलको खलनायकीपनलाई अत्यन्तै रुचाइयो । उक्त फिल्ममा उहाँले बोलेको ‘राते काईंलालाई यो कुरा मन परेन’ भन्ने संवादले तहल्कै मचायो ।
त्यसपछि सुनील हिन्दी फिल्ममा कम नेपाली फिल्ममा बढी देखिन थाल्नुभयो । चिनोको अपार सफलतापछि उहाँले बलिउडबाट आएका फिल्मका अफरहरूलाई अस्वीकार गर्दै नेपाललाई नै कर्मभूमि मानेर करियरलाई अघि बढाउनुभयो । त्यस क्रममा सुनीलले प्रायः फिल्ममा खलपात्रकै भूमिकाबाट मन जित्दै आउनुभएको थियो भने केही फिल्ममा हाँस्य पात्र र सकरात्मक भूमिकामा समेत अभिनय गर्नुभएको छ ।
‘चेली’ नामक फिल्ममा नायकका रूपमा अभिनय गरेका उहाँले नेपाली र भारतीयबाहेक भोजपुरी, तेलगु, बंगाली र तामिल फिल्ममा पनि अभिनय गर्नुभएको छ । उहाँले पछिल्लोपटक बक्सिङ खेलाडी ‘मेरी कोम’को जीवनीमा आधारित मेरी कोमको कोचको रूपमा बलिउड फिल्मबाट फेरि लोकप्रियता कमाउनुभएको थियो । सो फिल्ममा उहाँले मेरी कोम बनेकी प्रियंका चोपडाको कोचको भूमिकामा अभिनय गर्नुभएको थियो ।
अग्लो कद, रिसाहा अनुहार, खाइलाग्दो शारीरिक बनोट, बोल्ड आवाज र तेज आँखामा खुङ्खार खलनायकका रूपमा पर्दामा देखिँदै आएका सुनील वास्तविक जीवनमा भने अत्यन्त मिलनसार र हँसिलो हुनुहुन्थ्यो । सुटिङ या अन्य सभा समारोहमा उहाँले ठट्टा गरेर अगाडि बस्ने कसैलाई न्यास्रो हुनै दिनुहुन्नथियो । जुनसुकै उमेरको मानिसलाई पनि उहाँ प्रायः सबैलाई डार्लिङ भनेर सम्बोधन गर्न रुचाउनु हुन्थ्यो । सबैको ‘डार्लिङ’ उहाँ अब भने कहिल्यै नबोल्ने, नहँसाउने र अभिनय नगर्ने गरी अस्ताउनुभएको छ । उहाँको निधनसँगै नेपाली फिल्म क्षेत्रले खलपात्र अभिनयको एउटा युग गुमाएको छ ।
हालसम्म विभिन्न भाषाका करिब डेढ सय फिल्म, सिरीयल र वेब सिरीजमा अभिनय गरेका उहाँ काठमाडौंमा एक्लै बस्दै आउनुभएको थियो । उहाँको परिवार भने मुम्बईमै बस्दै आएको छ । उहाँको निधनको खबरपछि परिवार काठमाडौं आईपुगेको छ । उहाँको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
सुनीलको निधनप्रति प्रधानमन्त्री शुशीला कार्कीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । त्यसै गरी चलचित्र विकास बोर्ड, कलाकार संघ, निर्माता संघ, चलचित्र पत्रकार संघलगायतका संघ संस्था र कलाकर्मी तथा उनका शुभचिन्तकहरूले पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन् । कलाकर्मीहरूले उहाँलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न माग गरेका छन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि थापाप्रति भावुक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । फेसबुकमा ‘मेरी कोम’ फिल्ममा समावेश थापासँगको दृश्य साझा गर्दै चोपडाले लेख्नुभएको छ– ‘तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ । बुबा गुमाएको पीडामा म टुटिसकेको बेला तपाईंले मलाई सम्हाल्नुभयो ।
तपाईंको माया, साथ र हौसला मेरा धेरै कठिन दिनहरू पार गर्ने आधार बने । सायद तपाईंले थाहा नै पाउनु भएन, तपाईंको न्यानो अँगालो र हाँसो सधैं मेरा सम्झनामा जीवित रहनेछ । कम उमेरमै बिदा हुनुभयो, तर कहिल्यै भुल्ने छैन । म पूर्ण रूपमा भाँचिएको समयमा देखाउनुभएको तपाईंको आत्मीयता र दयालुताका लागि धन्यवाद । शान्ति चिरनिद्रामा रहनुहोस्, सुनील थापा ।’
थापाको अन्त्येष्टि आज आइतबार गरिने भएको छ ।











प्रतिक्रिया