यो विश्वासघात र स्वार्थको यस्तो घटना हो, जसले विश्व खेलकुदको इतिहासमै गहिरो खाडल खनिदियो । आज जब हामी विश्वकप, युरो कप लगायत अन्य प्रतिष्ठित फुटबल प्रतियोगिताको समूह चरणका अन्तिम खेलहरू एकै समयमा सुरु भएको देख्छौँ, त्यो कुनै संयोग होइन । त्यो सन् १९८२ को एउटा षड्यन्त्रले रचिएको खेल परिणामको देन हो । इतिहासले ‘जिहोनको लज्जा’ वा ‘डिसग्रेस अफ जिहोन’ भनेर त्यस दिनको खेललाई चित्रण गरेको छ ।
त्यतिबेला स्पेन तानाशाहीको लामो अँध्यारोबाट बाहिर निस्कँदै लोकतन्त्रतर्फ पाइला चालिरहेको थियो । तर, स्पेनको जिहोनस्थित एल मोनिनन स्टेडियममा लोकतन्त्र होइन, स्वार्थको शासन चलिरहेको थियो । फिफाको अदूरदर्शी संरचना र फुटबलका अपूरा नियमहरूले त्यस्तो परिस्थिति सिर्जना गरिदिए, जहाँ दुई छिमेकी राष्ट्र पश्चिम जर्मनी र अस्ट्रियाले मैदानमा फुटबल होइन नाटक मञ्चन गरे । उनीहरूले खेललाई प्रतिस्पर्धा होइन, नाटकमा रूपान्तरण गरे ।
त्यस सम्पूर्ण षड्यन्त्रको केन्द्रमा थियो अफ्रिकी राष्ट्र अल्जेरिया । पहिलोपटक विश्वकप खेल्न आएको अल्जेरियाली टोलीले आफ्नो पहिलो खेलमै शक्तिशाली पश्चिम जर्मनीलाई २–१ ले हराएर सनसनी मच्चाएको थियो । समूह चरणको खेलमा अल्जेरियाले चिलीलाई पराजित गरेपछि अंक तालिकाको गणित यस्तो बन्यो कि यदि पश्चिम जर्मनीले अस्ट्रियालाई केवल १ गोलअन्तरले मात्र हराएमा अल्जेरिया प्रतियोगिताबाट बाहिरिने र जर्मनी तथा अस्ट्रिया दुवै अर्को चरणमा पुग्ने थियो । खेल सुरु भएको १०औँ मिनेटमै जर्मनीका होस्र्ट ह्रुबेस्चले गोल गरे । त्यही क्षणबाट फुटबलको आत्मा मैदानमै ढल्यो ।

त्यसपछि बाँकीको ८० मिनेट मैदानमा खेल होइन, मौन सम्झौता देखियो । दुवै टोलीले बल यताउता पास गरे, तर आक्रमण गर्ने साहस गरेनन् । जोश हरायो, प्रतिस्पर्धा हरायो अनि फुटबल केवल समय कटाउने साधन बन्यो । रंगशालामा बसेका दर्शकहरू आक्रोशित बने । “बाहिर निस्क” र “तिमीहरू एकअर्कालाई चुम्बन गर” भन्ने दर्शकको नाराले मैदान गुञ्जायमान बन्यो । अस्ट्रियाका टेलिभिजन कमेन्टेटरले त लाजले दर्शकलाई टेलिभिजन नै बन्द गर्न आग्रह गरे । तर, मैदानमा रहेका खेलाडीहरूका लागि ती आवाजहरूको कुनै अर्थ थिएन ।
त्यो लज्जास्पद मिलोमतोले अल्जेरियाको सपना मात्र चकनाचुर पारेन, त्यसले फुटबलको निष्पक्षता र नैतिकतामाथि नै गहिरो प्रश्न खडा गरिदियो । खेल सकिनेबित्तिकै अल्जेरियाले फिफामा आधिकारिक रूपमा विरोध पत्र दर्ता ग¥यो । यो खेल पूर्वनियोजित थियो, त्यसैले दुवै टोलीलाई कारबाही गरियोस् र नतिजा खारेज गरियोस् भन्ने उनीहरूको स्पष्ट माग थियो । तर, फुटबलको सर्वोच्च निकाय फिफाले त्यतिबेला दिएको निर्णयले घाउमा झन् नुन छर्कने काम ग¥यो । फिफाले अनुसन्धान त ग¥यो, तर अन्त्यमा भन्यो,–“प्राविधिक रूपमा कुनै पनि नियम उल्लंघन भएको छैन ।” फुटबलका नियममा ‘गोल गर्नैपर्छ’ वा ‘आक्रामक खेल्नैपर्छ’ भन्ने शब्द कतै लेखिएका थिएनन् । त्यसैले खेलको नतिजा मान्य ठहरियो ।
अल्जेरियाको उजुरी खारेज भयो, उनीहरू घर फर्कन बाध्य भए । जर्मनी र अस्ट्रिया भने अर्को चरणमा प्रवेश गरे । पश्चिम जर्मनी त त्यो विश्वकपको फाइनलसम्मै पुग्यो । जहाँ उनीहरू इटालीसँग पराजित भए । खेलपछि अस्ट्रियाली फुटबल संघका प्रतिनिधिहरूले घमण्डका साथ भने,–“हामी यहाँ फुटबल खेल्न आएका हौँ, अल्जेरियालीहरूका लागि बाटो बनाउन होइन ।” केही जर्मन खेलाडीहरूले त होटलमा आक्रोशित समर्थकहरूमाथि पानीसमेत खन्याइदिए ।
तर, अल्जेरियाले मैदानमा न्याय नपाए पनि इतिहासले उसलाई ‘नैतिक विजेता’ बनायो । फिफाले तत्काल उजुरी स्वीकार नगरे पनि फुटबलको छविमा दाग परेको महसुस ग¥यो । त्यसैको परिणामस्वरूप सन् १९८४ को युरो कप र १९८६ को विश्वकपदेखि समूह चरणका अन्तिम खेलहरू एकै समयमा सुरु गर्ने नियम अनिवार्य गरियो । भलै १९८२ को विश्वकपमा षड्यन्त्रको सिकार भएर अल्जेरिया बाहिरिएको थियो, तर उक्त टोलीले फुटबलको इतिहासमा सधैँका लागि एउटा यस्तो नियम छाडेर गयो । जसले आजको फुटबललाई निष्पक्ष बनाउने काम गरेको छ ।
त्यही एउटा खेलले विश्व फुटबलको दिशा नै बदलिदियो । नतिजा थाहा पाएर रणनीतिक षड्यन्त्र गर्न नसकोस् भनेर त्यसयता समूह चरणका अन्तिम खेलहरू एउटै समयमा खेलाउने नियम बनाइयो । यो नियम केवल तालिकाको व्यवस्थापनका लागि मात्रै होइन, यो त फेयर प्ले र खेलको आत्माको रक्षाको निम्ति पनि आवश्यक थियो । जिहोनको त्यो लज्जास्पद दिनले निम्त्याएको सुधारको प्रतिफल आज विश्वकप, युरो कप र अन्य ठूला प्रतियोगिताहरूमा समूह चरणका अन्तिम खेलहरू एकैसाथ सुरु गरिंदै आएको छ ।











प्रतिक्रिया