दौरा सुरुवालमा दौडेका जोशी, गिनिज बुक अफ वर्ल्डमा नाम दर्ता


नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा विश्व म्याराथन च्यालेन्ज पूरा गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाएका छन् । जोशीले उक्त विश्व म्याराथन च्यालेन्जअन्तर्गत सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व कीर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् । उनी नेपाली पोशाकमा दौडिने विश्वमै पहिलो धावकसमेत बने ।

शुक्रबार अमेरिकाको मायामीमा आयोजित उक्त म्याराथनको समापन समारोहमा गिनिज बुक अफ वल्र्डका प्रतिनिधि माइकल ईम्प्रिकले जोशीलाई प्रमाणपत्र प्रदान गरेका थिए । ३१ जनवरीमा अन्टार्टिकाबाट शुरु भएको म्याराथन फेब्रुवरी ६ मा अमेरिकाको मायामीमा सम्पन्न भएको थियो ।

उनले सो विश्व म्याराथनमा सातै वटा महादेशमा नेपाली र अमेरिकी झण्डा फहराएका थिए । २०१५ देखि हरेक वर्ष सञ्चालन हुँदैं आएको विश्व म्याराथन च्यालेन्ज अत्यन्तै चुनौतीपूर्ण मानिन्छ । सात महादेशमा लगातार सात दिनसम्म सात वटा म्याराथन आयोजना हुने हुँदा यसलाई ७७७ म्याराथन पनि भनिन्छ ।

छोटो अवधिमा नेपाली सम्पदाको प्रचार गर्ने अवसरका रूपमा सदुपयोग गरेको जोशीले बताए । उनले बताए—यो चुनौतीपूर्ण म्याराथनलाई मातृभुमि नेपाल, नेपाली सम्पदा र संस्कृति चिनाउने अवसरका रूपमा लिएको हुँ । आफु जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि गरिएको प्रयास सफल हुँदा अत्यन्त खुशी लागेको छ ।

टेक्सासको डालास फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् । उनले यस म्याराथनमा लगाएको सात वटै दौरा सुरुवाल काठमाडौंका विश्व गौतमले तयार गरेका थिए ।

उक्त म्याराथन २०२६ मा ३२ देशका ५६ प्रतिस्पर्धीहरूले सहभागि जनाएका थिए । यस म्याराथन अन्टार्टिकाबाट शुरु भएर अफ्रिकाको केप टाउन, अस्टे«लियाको पर्थ, एशियाको दुबई, यूरोपको मेड्रिड, दक्षिण अमेरिकाको ब्राजिल हुँदैं उत्तर अमेरिकाको मायामी सम्पन्न हुने गर्दछ ।