जेनजीको भावना सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध : महामन्त्री पौडेल


काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ता अर्थात् जेनजीका भावना र अपेक्षाअनुसार पार्टी अघि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले जेनजीका मुद्दा सम्बोधन गर्न कांग्रेसमा कुनै अन्योल नरहेको स्पष्ट पारे ।

उनले हालै सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाएको र आगामी निर्वाचनमा होमिन सहज वातावरण तयार भएको बताए । महामन्त्री पौडेलले कांग्रेसको नेतृत्वमा देशको विकास–निर्माणका गतिविधि तीव्र बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।