नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त


काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्रीस्तरीय निर्णयअनुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा बीई गरेकी छन् । उनले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ गते स्थायी नियुक्ति पाएकी थिइन्।

डंगोल २०८० जेठ ३२ गते नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । यस अवधिमा उनले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसकेकी छन् । उनी हालसम्म प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् ।

पदभार ग्रहण गर्दै डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावप्रति धन्यवाद व्यक्त गरिन् । उनले ग्राहकको चाहना र सरकारको प्राथमिकताअनुसार कम्पनी, कर्मचारी तथा राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । साथै, नेपाल टेलिकमलाई ग्राहक केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सबल बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने बताइन् ।