एआई दुरुपयोग गरेर भ्रामक तस्बिर फैलाउनेलाई कारबाही चेतावनी, रास्वपा कार्यालयमा सामान्य क्षति


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमा एआई (कृत्रिम बुद्धिमत्ता) को दुरुपयोग गरी भ्रामक समाचार र नक्कली तस्बिर फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रशासनले यस्ता भ्रामक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ ।

प्रशासनका अनुसार कमल गाउँपालिका–२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गर्दा एउटा झ्यालको सिसा मात्र फुटेको थियो । घटनाबाट सामान्य क्षति बाहेक अन्य कुनै गम्भीर तोडफोड नभएको प्रशासनले जनाएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ ।

तर केही व्यक्तिले सो घटनालाई अतिरञ्जित बनाउँदै एआईको प्रयोग गरेर गम्भीर तोडफोड भएको जस्तो देखिने झुट्टा तस्बिर तयार गरी सामाजिक सञ्जालमा प्रचार गरेको प्रशासनको भनाइ छ । ती नक्कली तस्बिरमार्फत जनमानसमा भ्रम फैलाउने प्रयास गरिएको पाइएको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले वास्तविक घटनाका तस्बिर र एआईबाट निर्मित नक्कली तस्बिर सार्वजनिक गर्दै तुलना समेत प्रस्तुत गरेको छ । साथै, यस्ता गलत सूचना र भ्रामक समाचारको पछि नलाग्न आम नागरिकलाई अनुरोध गर्दै, दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढिरहेको जनाएको छ।