त्रि.वि. पदाधिकारीको कुर्सीमा अपशब्दसहितको पर्चा टाँस्दै अखिल क्रान्तिकारीको सांकेतिक विरोध


काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा अपशब्द लेखिएको पर्चा टाँसेर सांकेतिक विरोध जनाएको छ।

उपकुलपति दीपक अर्याल र रजिस्ट्रार केदार रिजालको कुर्सीमा ‘मै शैक्षिक माफिया हुँ’ लगायतका शब्द लेखिएको पर्चा टाँसिएको हो। अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष दिनेश ऐरले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त तस्बिर सार्वजनिक गर्दै पदाधिकारीहरूलाई शैक्षिक माफिया र दमनकारीको संज्ञा दिएका छन्।

यसअघि पनि सोही समूहले त्रिवि रेक्टर खड्ग केसीको कार्यकक्ष बाहिर रहेको नेमप्लेट हटाएको थियो। लामो समयदेखि विभिन्न माग राख्दै आएको अखिल क्रान्तिकारीले त्रिविमा उग्र गतिविधि गर्दै आएको विश्वविद्यालय प्रशासनको आरोप छ।

सामाजिक सञ्जालमा ऐरले लेखेका छन्, “पदाधिकारीका कुर्सीमा टाँसिएको पर्चा व्यक्तिविरुद्ध होइन, कर्तव्यविहीनताविरुद्ध गरिएको सांकेतिक विरोध हो। सहमति गर्ने र तोड्ने खेल बन्द गरियोस्, तत्काल वार्ता खोलियोस् र सहमति कार्यान्वयन गरियोस्।”

मानविकी संकाय अन्तर्गतका चार सेल्फ–सस्टेन कार्यक्रम केन्द्रीय विभागमा स्तरोन्नति भइसके पनि शुल्क समायोजनसम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै संगठनले असन्तुष्टि जनाएको छ। यस विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति र विकास अध्ययन विभाग प्रभावित भएका छन्।

गत सोमबार त्रिवि प्रशासनले प्रहरीको सहयोगमा तीन सातादेखि लगाइएको ताला खोलेको थियो। ताला खुलेपछि असन्तुष्ट विद्यार्थीहरूले नाराजुलुस गरेका थिए। त्रिविले शुल्कसम्बन्धी समस्या समाधानका लागि शुल्क पुनरावलोकन कार्यदल गठन गरी प्रक्रिया अघि बढाएको जनाएको छ।

उपकुलपति दीपक अर्यालले विद्यार्थीका माग सम्बोधनको चरणमा रहेको बताए। त्रिविका अनुसार सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार तालाबन्दी खोलिएको हो। सर्वोच्चले गत असार १८ गते त्रिविमा तालाबन्दी नगर्न तथा गरिएको भए खुलाउन आदेश दिएको थियो।