कार्यवाहक मेयर डंगोलको सक्रियता : चुस्त बन्यो सचिवालय, महत्वपूर्ण कामको सुरुआत

1.03k
Shares

–अव्यवस्थित पार्किङ व्यवस्थापन

–रात्रिकालीन फोहोर अनुगमन

–तीन दिनमा कामपामा उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर

–घरघरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा

–बागबजार पुतलीसडकमा कल्भर्ट निर्माण

काठमाडौं।

काठमाडौं महानगरपालिका कार्यबाहक मेयर सुनिता डंगोलले कामपालाई चुस्त बनाउन पदभारग्रहण गरेको १८ दिनमा मेयर सचिवालयसहित महत्वपूर्ण विभागमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गर्नुभएको छ । सचिवालय चुस्त नभएको गुनासो बढिरहँदा काबा मेयर डंगोलले महत्वपूर्ण विभागको कर्मचारीको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

गत माघ ५ गते काबा मेयरको पदभार ग्रहण गर्नुभएको डंगोलको निर्देशनमा प्रशासन विभागसहित आधा दर्जन उच्चतहका कर्मचारी जिम्मेवारी हेरफेर भएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुुरागाईंले हिजो बिहीबार सहकारी विभाग प्रमुख महेश काफ्लेलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिनुभएको छ भने प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेलाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिनुभएको छ ।

स्रोतका अनुसार खरिद ईकाई प्रमुख रामरतन साहलाई प्रशासन विभागमा लगिएको छ । उहाँको करिब सात दिनअघि जिम्मेवारी हेरफेर भएको थियो । सोही दिन विपद व्यवस्थापन विभाग प्रमुख जगदीश अर्याललाई खरिद ईकाई प्रमुखको जिम्मेवारी दिइएको थियो भने विपद् व्यवस्थापन विभागको निमित्त प्रमुखको जिम्मेवारी प्रवीण प्याकुरेलले पाउनुभएको छ । त्यस्तै, बुधबार नमराज ढकाललाई शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

लामो समयदेखि कानुन विभाग प्रमुख रहेका वसन्त आचार्यलाई काबा मेयर सुनिता डंगोलको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ भने कानुन विभागको निमित्त प्रमुखमा सुशील कुँवरलाई जिम्मेवारी दिइएको छ । वरिष्ठ शाखा अधिकृत सन्तु श्रेष्ठलाई मेयर सचिवालयमा लगिएको छ । मेयर डंगोलको सचिवालय चुस्त नभएको गुनासो बढिरहेको अवस्थामा मेयर डंगोलले सचिवालयमा दुई वरिष्ठ अधिकारी नियुक्ति गर्नुभएको हो ।

पछिल्लो समय मेयरको वागडोर सम्हालेदेखि डंगोलले फोहोर व्यवस्थापनमा रात्रि गस्तीदेखि, पार्किङ व्यवस्थापनलगायत महत्वपूर्ण विषयमा ध्यान दिन थाल्नुभएको छ । तत्कालीन मेयर बालेन्द्र साह, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले र केही विभागीय प्रमुखले प्रयोग गर्ने भीआइपी लिफ्ट सर्वसाधारणका लागि खुलागर्नेसम्मको निर्णय भएको छ । कामपा मुख्यालयमा तीनवटा लिफ्ट सञ्चालनमा छन् । ‘भीआइपी लिफ्ट भने २०८१ साल साउनमा तयार भएको हो । सुरुबाटै सर्वसाधारणले प्रयोग गर्न पाएका थिएनन् । अब सबै सेवाग्राहीले प्रयोग गर्न मिल्नेगरी खुला भएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

काबा मेयर डंगोलको निर्देशनलगत्तै सामुदायिक विद्यालयमा आफ्नै प्रविधियुक्त डिजिटल हाजिरी सुरु भएको छ । मेयर बालेन्द्रले राजीनामा दिएपछि पार्किङ र फोहोर व्यवस्थापन भद्रगोल भएको विषयमा केही मिडियाले अफबाह फैलाएका थिए । तर, कार्यबाहक मेयर डंगोलले बागाडोर सम्हालेपछि थप व्यवस्थित भएको कामपाको दाबी छ । कामपा प्रहरी प्रमुख विष्णु जोशीले फोहोर व्यवस्थापनदेखि जथाभाबी पार्किङलाई थप कडाइ र व्यवस्थित पारिएको बताउनुभयो ।

कार्यबाहक मेयर डंगोलले सुरुमै सबै विभाग, महाशाखा र ईकाई प्रमुखसँग कार्ययोजनासहित छलफल गर्नुभएको थियो । छलफलमा सबैलाई कार्ययोजना तयार गर्न निर्देशन दिनुभएको थियो । काबा मेयर डंगोल ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था सर्वेक्षण गर्ने टोलीलाई हौसला प्रदान गर्न घरघरमा पुग्नुभएको पनि थियो । यो विषयमा भने आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले कामपालाई पत्र पठाएको छ । कामपाले पुरानै कार्यक्रम भएको उल्लेख गर्दै आयोगमा स्पष्टीकरण दिइसकेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार करिब एक महिनाअघि नै कामपा स्वाथ्य विभागले घरघरमा सेवा दिन सुरु गरेको थियो । ७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन आवश्यक पर्ने तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको थियो । घरघरमा खटिने स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न मेयर डंगोल वडानं ३१ र २७ मा पुग्नुभएको थियो ।

डंगोलको निर्देशनमा पुतली सडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने निर्णय भएको भएको छ । ७० लाख ७२ हजार रुपियाँको लागतमा पुल निर्माण हुनेछ । पुल निर्माण आगामी चैत मसान्तभित्र सम्पन्न हुने गरी सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानीको बहाव हुनेतर्फ १४ मिटरको हुनेछ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको भवन र नवआदर्श माध्यमिक विद्यालय रहेको स्थानमा जीवित देवताहरू गणेश र भैरवको निवास स्थान बनाउने विषयमा पनि त्रिभुवन विश्वविद्यालयसँग छलफल सुरु भएको छ ।

वडा नं २७ भोटाहिटीको नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय भवन कामपालाई प्रयोग गर्न गृहमन्त्रालयले सहमति दिएको छ भने रामशाहपथको ट्राफिक प्रहरी कार्यालयको भवन नेपाल प्रहरीलाई दिने सहमति भएको छ ।

मेयर बालेन्द्र साहको कार्यकालयमा भएको भन्दा फरक र सम्झनायोग्य काम गर्ने अवसरको सदुपयोग गर्नु डंगोलको मुख्य प्राथमिकता हो । मुख्य योजना निर्माण गर्ने सहरी योजना आयोग खाली छ । कामपाको योजना तर्जुमादेखि कार्यान्वयन गर्ने आयोगमा उपाध्यक्ष, विज्ञ र सहायकविज्ञ रिक्त हुदा अधिकांश विकास निर्माणको काम रोकिएको छ ।