पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल र दबाब अस्वीकार्य


काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेले पुराना दलहरूले विभिन्न षड्यन्त्र गर्दै संसद् ब्युँताउन प्रयास गरिरहेको तर्फ संकेत गर्दै जनविद्रोहले उखेलेर फालेको पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की नस्वीकार्ने बताउनुभएको छ ।

मंगलवार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले निर्वाचनअघि केही दलहरूले गठबन्धन गर्ने प्रयास गरेकोमा चेतावनी शैलीमा भन्नुभएको छ– ‘मेरो खुला आग्रह छ, अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं ।’
लामिछानेले आफूहरूलाई लोकप्रियतावादी, भिजनबिनाका, नीति–सिद्धान्तबिनाका भनेर कसैले रोइकराइ गर्नु नपर्ने स्पष्ट पार्नुभएको छ । उहाँले लेख्नुभएको छ– ‘सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा दस्तावेज पढ्ने जाँगर विश्लेषणजीवीहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ?

विचार, सिद्धान्त, नीति सबै भएका भनिएका तपाईंहरूको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस् ।’ उहाँले म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको वेग रोक्ने हक कसैलाई नभएको बताउनुभएको छ । ‘यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोरभन्दा कठोर तपस्याका लागि बिल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ, मलाई त्यसको परवाह छैन’ –उहाँले भन्नुभएको छ ।

लामिछानेले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यही निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको दाबी गर्दै अब अन्तिम पर्दा उठ्न बाँकी रहेको र त्यो पर्दा आफूहरूले उठाउने दाबी गर्नुभएको छ ।

‘जेन–जीको बलिदानीमाथि अत्याचार हुन्छ’
विश्लेषकहरूले संसद् पुनःस्थापनाको खेल खेलिए त्यो जेन–जीको पवित्र आन्दोलन र बलिदानीमाथि अत्याचार हुने बताएका छन् । उनीहरूले जेन–जीको इच्छाविपरीत निर्वाचन रोकेर विकृत खेल खेलिए फेरि अर्को जेन–जी विद्रोह हुने र त्यो झनै खतरनाक हुन सक्ने भएकाले निर्वाचनको विरुद्ध कुनै प्रकारको षड्यन्त्र नगर्न सबैलाई सचेत गराएका छन् ।