कांग्रेस, एमाले र नेकपा उम्मेदवारको ठूलो टाउको दुखाइ : विदेशमा बस्ने नेपाली

‘फलानो चिह्नमै भोट हाल्नू’ भन्दै अभिभावकलाई उर्दी


–पृष्ठभूमि नहेरी ‘नयाँ’लाई मात्रै समर्थन
–कतिपय अभिभावक असन्तुष्ट

काठमाडौं ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विदेशमा बस्ने नेपालीहरू पुराना तथा ठूला दलका लागि अनपेक्षित तर गम्भीर टाउको दुखाइ बन्दै गएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीलगायतका पुराना र ठूला दल तथा तिनका उम्मेदवारहरू यति बेला घरदैलो अभियानमा व्यस्त रहँदा, गाउँगाउँमा विदेशबाट आएको ‘फोन राजनीति’ले उनीहरूलाई झस्काउन थालेको छ ।

रोजगारी, अध्ययन र राम्रो आम्दानीको खोजीमा विदेश गएका धेरै नेपालीले आफ्ना बुबा–आमा, आफन्त र परिवारका सदस्यलाई फोन, म्यासेज र सामाजिक सञ्जालमार्फत नयाँ दल र तिनका उम्मेदवारलाई भोट हाल्न निरन्तर दबाब दिन थालेका छन् । ‘फलानो पार्टी र फलानो चुनाव चिह्नमै भोट हाल्नू’ भन्ने स्पष्ट निर्देशन गाउँघरमा आम अभिभावकका लागि असहज बन्दै गएको छ ।

घरदैलोमै झस्किँदै उम्मेदवार
घरदैलो अभियानका क्रममा कतिपय उम्मेदवारले गाउँलेबाटै अप्रत्याशित जवाफ सुन्नुपरेको छ । ‘छोराछोरी विदेशमा छन्, उनीहरूले भनेकै पार्टीलाई भोट हाल्नुपर्छ भनेका छन्, हामी अरूलाई भोट हाल्न सक्दैनौँ’ भन्ने जवाफले उम्मेदवारहरू अचम्मितमात्र होइन, चिन्तित पनि देखिन्छन् । केही उम्मेदवारले त घरदैलोका क्रममा गाउँलेहरूबीच जाँदा उनीहरूकै अघि विदेशमा रहेका उनका छोराछोरीहरूसँग आफैं कुराकानी गर्दै आफ्ना एजेन्डा पेस गरी उनीहरूसँग पनि भोट माग्न थालेका छन् र अभिभावकहरूलाई कुनै उर्दी जारी नगर्न विशेष आग्रह गर्न थालेका छन् ।

स्थानीय स्तरमा लामो समयदेखि सक्रिय, सुख–दुःखमा साथ दिने र सामाजिक काममा भिजेका उम्मेदवारहरू हुँदाहुँदै पनि केवल ‘नयाँ दल’को नाममा बाहिरबाट आएको दबाबले मतदाताको निर्णय प्रभावित हुन थालेको देखिन्छ ।
स्थानीय जानकारहरूका अनुसार विदेशमा बस्ने धेरै नेपालीहरूले उम्मेदवारको व्यक्तिगत पृष्ठभूमि, जिल्ला तथा स्थानीय तहमा गरेको योगदान, सामाजिक सम्बन्ध र उत्तरदायित्वलाई बेवास्ता गर्दै केवल पार्टीको नाम र ‘नयाँपन’ का आधारमा भोट हाल्न परिवारलाई उर्दी दिने प्रवृत्ति बढ्दो छ ।

कतिपय अवस्थामा गाउँमा कहिल्यै नआएका, स्थानीय समस्या नबुझेका र भविष्यमा पनि गाउँसँग खासै सरोकार नराख्ने उम्मेदवारलाई समर्थन गर्न दबाब दिइएको अभिभावकहरूको गुनासो छ । गाउँमा बसेर खेतबारी, समाज र परिवार सम्हाल्दै आएका बुबा–आमाले आफ्ना छोराछोरीको एकोहोरो दबाबप्रति खुलेर असन्तोष व्यक्त गर्न थालेका छन् ।

‘भोलि मर्दा मलामी आउने, सुख–दुःखमा साथ दिने मान्छेलाई भोट हाल्नुपर्छ’ भन्दै केही सचेत अभिभावकले विदेशमा रहेका छोराछोरीलाई सम्झाउने प्रयास पनि गरिरहेका छन् । तर, उनीहरूको भनाइ सुन्न नचाहने, ‘नयाँ दलमै भोट हाल्नैपर्छ’ भन्ने अडानमा विदेशमा बस्नेहरू रहेको स्थानीयको अनुभव छ ।

अभिभावकहरू भन्छन्, भोट हाल्ने अधिकार संविधानले दिएको व्यक्तिगत अधिकार हो, जसमा छोराछोरी वा विदेशमा बस्ने कसैले हस्तक्षेप गर्न हुँदैन । ‘विदेशी माटोमा बसेर यहाँको वास्तविकता नबुझी हाम्रो निर्णय नियन्त्रण गर्न खोज्नु गलत हो’ –एक स्थानीय वृद्धको भनाइ छ ।

राजनीतिक विश्लेषकहरू यस प्रवृत्तिलाई लोकतन्त्रका लागि गम्भीर प्रश्नका रूपमा हेर्दै भन्छन्– ‘मतदान व्यक्तिगत विवेक, स्थानीय अनुभव र प्रत्यक्ष सम्बन्धमा आधारित हुनुपर्छ । विदेशबाट आउने भावनात्मक वा सामाजिक दबाबले यदि मतदाता निर्णय प्रभावित हुन्छ भने त्यसले स्थानीय प्रतिनिधित्वको मर्म कमजोर बनाउँछ ।’ उनीहरूका अनुसार विदेशमा बस्ने नेपालीको चिन्ता स्वाभाविक भए पनि स्थानीय यथार्थ नबुझी निर्देशात्मक दबाब दिनु दीर्घकालमा सामाजिक दूरी, पारिवारिक तनाव र गलत प्रतिनिधित्वको कारण बन्न सक्छ ।