मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की


नवलपरासी।

प्रधानमन्त्री कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गरिने स्पष्ट पारेकी छन्। बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचन सफल बनाउन आवश्यक सबै सहयोग गर्ने बताइन्।

निर्वाचनका लागि सरकारले पूर्ण तयारी गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउन सकिने बताइन्। कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरेर भए पनि मतदान सम्पन्न गराइने उनको भनाइ थियो।

हालसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषय प्रवेश नपाएको उल्लेख गर्दै उनले ढुक्क भएर आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न सबैलाई आग्रह गरिन्। समयमै निर्वाचन सम्पन्न गरी नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताइन्।

“शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले शत प्रतिशत प्रयास गरिरहेको छ,” उनले भनिन्।

विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आउन सक्ने भए पनि ती सबै समाधान गर्दै निर्वाचन सम्पन्न गराइने प्रधानमन्त्री कार्कीको भनाइ छ।