काठमाडौँ।
नेपालको औषधि उत्पादन क्षेत्रमा विगत ३५ वर्षदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले आफ्नो व्यवसाय विस्तारमा ठुलो फड्को मार्ने घोषणा गरेको छ । ३५ औँ वार्षिकोत्सवको सुखद अवसरमा कम्पनीले चितवनको भरतपुरमा ४७५ करोड रुपैयाँको लागतमा अत्याधुनिक नयाँ औषधि उत्पादन कारखाना निर्माण गर्ने घोषणा गरेको हो ।
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने र विश्वस्तरको प्रविधिलाई भित्र्याउने लक्ष्यसहित सुरु गर्न लागिएको यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस नयाँ परियोजनाले मुलुकको स्वास्थ्य क्षेत्रमा मात्र नभई अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

भरतपुरमा निर्माण हुने यस नयाँ कारखानाले ५५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेछ । हाल २९६ प्रकारका जीवन रक्षक औषधिहरू उत्पादन गर्दै आएको देउराली–जनताले नयाँ प्लान्ट सञ्चालनमा आएसँगै उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गर्ने र औषधिको विविधीकरण गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका अत्याधुनिक उत्पादनहरू बजारमा ल्याई औषधि आयातमा रहेको परनिर्भरता घटाउन यसले मद्दत पु¥याउनेछ ।
कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले देउराली–जनताको यात्रा केवल व्यवसाय मात्र नभई विज्ञान र सत्यनिष्ठाको प्रतिविम्ब भएको बताए । उनले भने “विज्ञानमा आधारित गुणस्तर र सत्यनिष्ठाबाट प्रमाणित हाम्रो कार्यदिशाको मर्मलाई आत्मसात गर्दै हामी औषधि उत्पादनमा आत्मनिर्भर बन्ने र विश्व बजारमा नेपाली औषधिको निर्यात सम्भावनालाई साकार पार्न निरन्तर अघि बढिरहेका छौं । यस यात्रामा चिकित्सक, औषधि व्यवसायी, पत्रकार, सरकारी निकाय र हाम्रा सबै शुभेच्छुकहरूको सहयोगप्रति हामी कृतज्ञ छौं ।“
सन् १९९० को दशकबाट सुरु भएको देउराली–जनताको यात्राले नेपाली औषधि बजारमा गुणस्तरको नयाँ मानक स्थापित गरेको छ । कम्पनीले नेपालमै उत्पादित औषधिको विश्वास जगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । हालसम्मका उपलब्धिहरूलाई समेट्दै कम्पनीले आगामी दिनमा अझ प्रभावकारी र अत्याधुनिक प्रविधियुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (डब्लुएचओ जीएमपी) लाई कडाइका साथ पालना गर्दै आएको यस कम्पनीले स्वदेशी पुँजी र सीपको प्रयोग गरी नेपाली बिरामीलाई सुलभ र गुणस्तरीय औषधि उपलब्ध गराउँदै आएको छ । चितवनको यो नयाँ परियोजना सम्पन्न भएसँगै नेपालको औषधि आपूर्ति सञ्जाल थप बलियो हुने र औषधि निर्यातको बाटो समेत खुल्ने विश्वास लिइएको छ । हरिभक्त शर्माले नेपाल भरिको जुनसुकै स्वास्थ्य शिविरमा निःशुल्क औषधि उपलब्ध गराउँछौं र सामाजिक सेवा हाम्रो कर्तव्य हो भने । उनले २९६ प्रकारका औषधि उत्पादन गर्दै आएको देउराली जनतामा ६ सय ७५ जना दक्ष कर्मचारी कार्यरत छन र उनीहरुकै लगनशिलता र मेहनतले विश्व स्तरमा देउराली फर्मास्यूकिल्स स्थापित भएको छ भने ।

नेपालमा औषधि उत्पादक कम्पनीको विस्तार भएसँगै मूल्य नियन्त्रणमा कुनै वैज्ञानिक आधार तय गरेको छैन । यस विषयमा औषधि व्यवस्था विभागले ध्यान दिन सकेको छैन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा शर्माले उक्त कुरा बताएका हुन् । उनले नेपालमा संसारको सबैभन्दा सस्तो औषधि पाइन्छ । यसले गर्दा विकृति बढ्नुका साथै गुणस्तर खस्कँदै गएको छ । यस विषयमा औषधि व्यवस्था विभागको ध्यान पुग्नुपर्छ । हाल औषधि व्यवस्था विभागले औषधिको मूल्य घटाउन मात्र जोड दिँदा गुणस्तरको बारेमा पनि ध्यान पुर्याउनुपर्ने जरुरी छ भने ।
उनले नेपालका १० वटा उच्च स्तरीय कम्पनीले मात्र नेपालको २६ प्रतिशत महत्त्वपूर्ण औषधिको क्षेत्र ओगटेका छन् । नेपालका औषधि उद्योगहरूले ४६ प्रतिशत औषधि नेपालमा विक्री गर्दै आएका छन् । यसमा देउराली जनताको मात्रै २ देखि ३ प्रतिशत औषधि नेपालको कूल खपतमा पर्छ । कच्चा पदार्थमा राजश्व महँगो हुँदा औषधि सस्तोमा उत्पादन गर्न नसकिने पनि प्रस्ट पारे ।











प्रतिक्रिया