भद्रपुर ।
कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको सहयोगमा कोशी पाथिभरा इन्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा पन्ध वर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो । माघ २१ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भइसकेको छ ।
क्रिकेट पिच, मैदान, बाँसे प्यारापिट, स्कोरबोर्ड, पभेलियनलगायत अन्य तयारीको काम धमाधम भइरहेको भद्रपुर क्रिकेट क्लबले सोमबार आयोजकले जानकारी गरायो । ग्राउण्डमा ८ हजार दर्शक अटाउने र प्रतियोगिता हेर्न कुनै शुल्क नलाग्ने मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए ।
प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्डस् यूथ क्लब डडेलधुरा, डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन् । त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको आयोजकले जनाएको छ ।
नेपालका क्लबहरूमा राष्ट्रिय टोलीका खेलाडीबाहेक एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने संयोजक सुब्बाले जानकारी दिए ।
एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार पाउने छन् । उदीयमान खेलाडीलाई नगद ११ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ पाउने बताइएको छ ।











प्रतिक्रिया