रौतहट ।
नागरिकताको प्रमाणपत्र बनाउन ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर धाएका चन्द्रपुर नगरपालिका–७, नयाबस्तीका ४५ वर्षीय रामबिश्वास साह र उनका छोरा रुपेश साह कर्मचारीको असहयोगका कारण नौ दिनदेखि हैरानी व्यहोर्न बाध्य भएका छन । प्रशासन कार्यालयमा अभिलेख नदेखिएको भन्दै नागरिकता प्रमाणपत्र हुँदाहुँदै पनि उनी अनागरिकजस्तै बन्नुपरेको पीडितको गुनासो छ । रुपेश कुमार साहले माघ ११ गते नागरिकता प्रमाणपत्र बनाउन आवश्यक कागजपत्रसहित ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर पुगेका थिए ।
तर कार्यालयमा उनका बुवा रामबिश्वास साहको नागरिकताको अभिलेख नभेटिएको भन्दै कर्मचारीले फिर्ता पठाएपछि समस्या सुरु भएको हो । रामबिश्वास साहले २०५४ साल चैत १२ गते जिल्ला प्रशासन कार्यालय गौरबाट ३४२१ नम्बरको नागरिकता प्रमाणपत्र प्राप्त गरेका थिए । तर उक्त अभिलेख कार्यालयमा नदेखिएपछि उनी कहिले जिल्ला प्रशासन कार्यालय गौर त कहिले ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर धाइरहेका छन् । प्रशासनका कर्मचारीको असहयोगका कारण नागरिकता प्रमाणपत्र पाउने आशामा उनीहरू दश दिनदेखि हैरानी व्यहोर्दै आएका छन् ।
नागरिकता प्रमाणपत्र पाउने अधिकारका लागि पटक–पटक प्रशासन कार्यालय धाउँदा पनि काम नभएपछि पीडित पक्षले सार्वजनिक रूपमा प्रशासनका कर्मचारीको आलोचना गरेका छन् । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले रामबिश्वास साहको नयाँ नागरिकता प्रमाणपत्र बनाउन सर्जमिनका लागि माघ १५ गते प्रहरी चौकी बनबोहरीकोनाममा पठाएको पत्रमा न त चलानी नम्बर उल्लेख छ, न त सम्बन्धित अधिकारीको हस्ताक्षर नै रहेको पीडितको भनाइ छ ।
उता प्रहरी चौकी बनबोहरीका प्रहरी सहायक निरीक्षक सुरेशमान श्रेष्ठले सर्जमिनका लागि दिनहुँ बोलाएर दुःख दिएको साह परिवारको गुनासो छ । पीडितका अनुसार सुरुमा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत श्याम राउतले अनलाइन प्रक्रिया पूरा गरेर ल्याउन भनेका थिए । तर अभिलेख नदेखिएको र सर्जमिनका लागि बनाइएको कागजातमा समेत हस्ताक्षर नभएका कारण थप दुःख झेल्नुपरेको उनीहरूको भनाइ छ ।
यस विषयमा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत श्याम राउतले नागरिकताको विवरण कम्प्युटर प्रणाली (सीआईएमएस) मा प्रविष्टि गर्ने क्रममा अभिलेख नदेखिएको बताए । कागजी प्रक्रिया पूरा भएपछि रामबिश्वास साहको नागरिकता प्रमाणपत्र बन्ने उनले जानकारी दिए ।











प्रतिक्रिया