भारतीय निर्भरता चर्किँदा काठमाडौँमा ग्यास संकट


काठमाडौँ ।

काठमाडौँ उपत्यकामा यतिबेला ग्यासको अभाव चर्किएको छ । बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्ता सिलिन्डर बोकेर उद्योगको कार्यालयमै लाइन लाग्न थालेका छन् । नेपाल आयल निगमले अन्य ब्रान्डको ग्यास पर्याप्त रहेको दाबी गरे पनि उद्योगीहरूले ढुवानी समस्याका कारण आपूर्ति प्रभावित भएको बताएका छन् ।

ग्यास अभावको मुख्य कारण ढुवानीका लागि शतप्रतिशत भारतीय बुलेटमाथिको निर्भरता रहेको उद्योगीहरूको भनाइ छ । भारतले नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई आफ्ना रिफाइनरीबाट ग्यास बोक्न अनुमति नदिँदा नेपालले आफ्नै ढुवानी संयन्त्र प्रयोग गर्न सकेको छैन । करिब सात वर्षअघि खरिद गरिएका नेपाली ग्यास बुलेटहरू अनुमति नपाएर प्रयोगविहीन अवस्थामा रहेका छन् ।

भारतीय रिफाइनरीमा आएको प्राविधिक समस्या र ढुवानी समय बढ्दा आपूर्ति चक्र बिग्रिएको उद्योगीहरूको भनाइ छ । आफ्नै बुलेट सञ्चालनमा आएको खण्डमा यस्ता समस्या व्यवस्थापन गर्न सहज हुने उनीहरूको तर्क छ ।