आचारसंहिता उल्लंघन गर्ने २९ जनालाई स्पष्टीकरण सोधियो


–बालेनलाई दोस्रोपटक स्पष्टीकरण
–१४ वटाको मात्र जवाफ प्राप्त

काठमाडौं ।

निर्वाचन आयोगले हालसम्ममा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २९ जनालाई स्पष्टीकरण सोधिसकेको छ ।
निर्वाचन माहोलले छुँदै गएपछि उम्मेदवार र दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रम बढेपछि आयोगले स्पष्टीकरण सोध्ने कार्यलाई तीव्रता दिँदै आएको हो । सोमबारसम्म २९ जनालाई स्पष्टीकरण सोधिसकेको आयोगले जनाएको छ । शनिवारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकोमा आइतबार र सोमवार गरी थप ९ स्पष्टीकरण माग गरेको हो ।

आयोगले आचारसंहिता उल्लंघनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरूलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । ‘कसैलाई सफाइको मौका नदिइकन कारबाही गर्न हुँदैन भन्ने व्यवस्थासमेत कानुनमा गरिएको हुन्छ । नियतवश नै आचारसंहिता उल्लंघन भएको रहेछ भने आयोगले थप कारबाही पनि गर्छ’ –उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र साहलाई आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै हिँडेको भन्ने व्यहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

साहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । साहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
यसैबीच आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ । थापाले बाजुरामा पीएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।

मुख्यमन्त्री बानियाँको कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोस्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको आयोगले सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभयो । ‘तपाईंले वागमती प्रदेशका मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिएको हो वा होइन ? उजुरीमा उल्लेख भएजस्तो आर्थिक स्रोत संकलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्थाको पालना गर्नुभएको छ वा छैन ?’ भनी उम्मेदवार थापालाई स्पष्टीकरण सोधिएको छ ।

निर्वाचन आचारसंहिता २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बाजुराका उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताउनुभयो । निर्वाचन उम्मेदवार लक्षित भ्रामक–अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका बारेमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि लेखी पठाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको भनी उम्मेदवार माधव सापकोटालाई स्पष्टीकरण सोधेको छ ।

यसै गरी आयोगले रुद्र गिरी, मंगल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको प्रवक्ता जिसीले बताउनुभयो ।

समानुपातिकको बन्दसूचीबाट ७६ जनाको नाम हटाइयो

निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी दिनुभयो ।

जसअनुसार, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रूपमा पेस भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको हो ।