काठमाडौं
शाक्यमुनी सिद्धार्थ गौतम बुद्धको आयुसंस्कार परित्याग दिवसको अवसरमा आइतबार विशेष बौद्धसभाको आयोजना गरियो । बसन्तपुरस्थित श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः ले गत वर्षहरुमा झै यसपटक पनि माघ पूर्णिमा (सिल्लापुन्हि) का दिन बुद्धको आयुसंस्कार परित्याग दिवसको अवसर पारेर बुद्धसभाको आयोजना गरेको हो ।

यसअघि भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा राखी बिभिन्न सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गराइएको थियो । भगवान बुद्धको शोभायात्रा बसन्तपुरबाट झोछे., ओमबहाल, येँगल, लगन, ब्रम्हटोल, ह्युमत, जैशीदेवल, कोहिति, भिमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेबी टेंगल, बांगेमुढा, भेडासिंह, इन्दैचोक, मखन, हनुमानढोका हुँदै पुन बसन्तपुर पुगेर सभामा परिणत भएको थियो ।

बौद्धसभामा सहभागी वक्ताहरुले यो दिवसले जीवनको नश्वरता स्वीकार गर्दै आत्मज्ञान, करुणा र शान्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने बताएका थिए । । बौद्ध विज्ञहरूले यसले मृत्युबाट डराउन नसिकाउने, बरु जीवनलाई सचेत र सदाचारपूर्ण बनाउन सिकाउने बताए। कार्यक्रममा बौद्धविज्ञ प्रा. नरेशमान बज्राचार्यले मानिस समयको दास हो, समयले मानिसलाई आफूअनुकुल चलाउँछ भन्ने आम बुझाइविपरित बुद्धको आयुसंस्कार परित्याग दिवसले मानिसले चाहे समयलाई आफूअनुकुल चलाउनसक्छ भन्ने तथ्यलाई स्मरण गराउने बताए । त्यसैगरी डा. राजेन्द्रमान बज्राचार्यले यो दिवसले त्यागको महत्व सिकाउने धारणा राखेका थिए ।

कार्यक्रममा महाविहारका अध्यक्ष ई. दिलरत्न शाक्यले भगवान् बुद्धले तीन महिना अगाडि नै आफ्नो महापरिनिर्वाण हुने घोषणा गर्नुभएकोले यो दिन विशेष भएको बताउनुभयो । उहाँले यो दिनलाई बौद्ध धर्मावलम्बीहरूले विशेष महत्व दिएर मनाउने भएता पनि नेपालमा यसबारे धेरैलाई जानकारी नै नभएको ले धारणा राख्दै यो दिनलाई राष्ट्रिय स्तरमा मनाउन सके बुद्धको जन्मभूमि नेपालको पहिचान अझ मजबुत हुने बताए । काठमाडौं महानगरपालिकाकी उपप्रमुख (कार्यवाहक प्रमुख) सुनिता डंगोलले यो दिवसलाई प्रचार(प्रसार गर्न र मनाउन काठमाडौं महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।












प्रतिक्रिया