फ्रेण्डस् अफ रोड क्लबको निर्वाचन केन्द्रित बहस

470
Shares

काठमाडौँ।

फ्रेण्डस् अफ रोड क्लब नेपालले नेचिप्स नेपाल र फाउन्टेन्स्संगको सहकार्यमा आगामी फागुन– २१ गते हुने निर्वाचन केन्द्रित बहस सुरु गरेको छ । 

काठमाडौँमा आयोजित ‘नेपाल चौबाटोमाः निर्वाचन पूर्वको राजनीति, भू– राजनीति र लोकतान्त्रिक बिकल्पहरु’ विषयक बहसका सहभागीहरूले नेपाल आफ्नो भू– स्थानका कारण दीर्घकालसम्म नै भू– राजनीतिक दबाबको केन्द्रमा रहने देश भएको यर्थाथलाई स्वीकार गरेर बुद्धिमत्तापूर्वक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

फाउन्टेन्सका अध्यक्ष एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले नेपाल कुनै पनि शक्ति केन्द्रको प्रभावमा एकपक्षिय रुपमा ढल्किन नहुने बरु सन्तुलित, स्वाभिमानी र राष्ट्र हितमा आधारीत परराष्ट्र नीतिको आधारमा अघि बढ्नुपर्ने बताए । 

कार्यक्रमका सहभागीहरूले आन्तिरीक राजनीतिक अस्थिरता, कमजोर संस्थागत संरचना र स्पष्ट रणनीतिक दृष्टिकोर्णको अभावकै कारण बाह्रय दबाबलाई बल पुगेको उल्लेख गरेका थिए । पूर्वमन्त्री पोखरेलले बलियो लोकतान्त्रिक अभ्यास, नीतिगत निरन्तरता र राष्ट्रिय सहमतिले भू– राजनीतिक सन्तुलन कायम गर्नसक्ने भएकोले आगामी निर्वाचनमा राजनीतिक दलहरुले उल्लेखित विषयलाई प्राथामिकतामा राख्नुपर्ने बताए ।

 कार्यक्रममा सहभागीहरूले विज्ञ बक्ताहरुसंग आन्तरिक राजनीति, भू– राजनीतिक अवस्था, राजनीतिक दलको भू– राजनीतिक दृष्टिकोण लगायतका विषयमा जिज्ञासा राखेका थिए । 

फाउन्टेन्सका अध्यक्ष एवम् पूर्व मन्त्री पोखरेलले गलत सूचना, सतही राष्ट्रवाद, क्षणिक लोकप्रियता जस्ता कुराले नीति– निर्माणलाई प्रभाव पार्ने भएकोले युवालाई तथ्य, इतिहास, शक्ति– सन्तुलन र दीर्घकालीन राष्ट्रिय हितमा सोच्न सक्षम बनाउनु पर्ने बताए ।

कार्यक्रममा नीति तथा अनुसन्धान प्रतिष्ठानका पूर्व अध्यक्ष डा. विष्णु राज उप्रेती, राजनीतिक विश्लेषक प्रा. डा. राजेन्द्र चाँपागाई र बागमती प्रदेश सुशासन केन्द्रका पूर्व अध्यक्ष बिमल पोखरेलले आन्तरिक राजनीति, अन्तर्राष्ट्रिय भू– राजनीतिक अवस्था लगायतको विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

नेचिप्स नेपालका महासचिव एवम् कार्यक्रमका सभापति रिनन पोखरेलले आगामी दिनमा पनि नेपाली राजनीति, भू– राजनीति र नेपालको भविष्यको बारेमा निर्वाचन केन्द्रित बहसलाई निरन्तरता दिइने बताए ।