काठमाडौं ।
नक्कली शैक्षिक प्रमाणपत्र तयार पारेर अमेरिकी डाइभर्सिटी (DV) भिसा प्रयोजनमा प्रयोग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाई अमेरिका दूतावास, काठमाडौंमा पेश गरिएको पुष्टि भएपछि संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–७ घर भई हाल बसोबास गर्दै आएका किरण सिंह ठकुरीले DV भिसा प्रयोजनका लागि पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट नक्कली रहेको पुष्टि भएको थियो। सोही प्रमाणपत्र बनाउने तथा प्रयोगमा संलग्न गिरोहलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा किरण सिंह ठकुरी (१९ वर्ष), अनिल शर्मा (४० वर्ष), लक्ष्मण बस्नेत (३४ वर्ष), केशव फुँयाल (४२ वर्ष), विष्णु पाण्डे (४७ वर्ष), दिवा लावती (४३ वर्ष) र शोभाकर खनाल (५२ वर्ष) रहेका छन्। उनीहरु तनहुँ, पर्वत, काठमाडौं, नुवाकोट र गुल्मी जिल्लाका विभिन्न स्थानका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले शैक्षिक प्रमाणपत्र जस्तो संवेदनशील कागजात नक्कली बनाएर वैदेशिक प्रयोजनमा प्रयोग गर्नु गम्भीर अपराध भएको भन्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। अनुसन्धान अझै जारी रहेको जनाइएको छ।











प्रतिक्रिया