भक्तपुर ।
भक्तपुरस्थित बाल सुधार गृहमा रहेका १८ वर्षमाथिका बालबिज्याइकर्ताहरुलाई चरणबद्ध रूपमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२।०९।०३ गतेको निर्णयअनुसार १८ वर्ष नाघेका बालकहरुलाई केन्द्रीय कारागार कार्यालय, नुवाकोटमा रहेको खाली ब्लकमा सञ्चालन हुने बाल सुधार गृहमा राख्ने व्यवस्था मिलाइएको हो।
यसै सन्दर्भमा मिति २०८२।१०।०९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भक्तपुर बाल सुधार गृहमा रहेका १८ वर्षमाथिका बालबिज्याइकर्ताहरुलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो।
कारागार व्यवस्थापन विभागको च.न. ७०७, मिति २०८२।१०।१५ गतेको पत्रअनुसार ७६ जना बालबिज्याइकर्तालाई स्थानान्तरणको अनुमति प्राप्त भएकोमा एक जना बिरामी रहेकाले ७५ जना पुरुष बालबिज्याइकर्तालाई मिति २०८२।१०।१८ गते केन्द्रीय कारागार कार्यालय, नुवाकोटमा स्थानान्तरण गरिएको छ।
स्थानान्तरण अघि भक्तपुर बाल सुधार गृहमा जम्मा १७० जना बालबिज्याइकर्ता रहेका थिए, जसमध्ये १४३ जना पुरुष र २७ जना महिला रहेका छन्। हाल ७५ जना पुरुष बालबिज्याइकर्ता नुवाकोट स्थानान्तरण भइसकेका छन् भने बाँकी ६७ जना बालबिज्याइकर्तालाई समेत चरणबद्ध रूपमा स्थानान्तरण गर्ने योजना रहेको छ। तीमध्ये एक जना बिरामी हाल अस्पतालमा उपचाररत रहेको जनाइएको छ।
यसैबीच २७ जना महिला तथा बालिकाहरुलाई भने हाललाई सोही भक्तपुर बाल सुधार गृहमा नै राखिने व्यवस्था गरिएको छ। बाल सुधार गृहको सुरक्षा व्यवस्थाका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा २० जनाको संख्यामा प्रहरी परिचालन गरिएको छ।











प्रतिक्रिया