काठमाडौं ।
देशकै रणनीतिक र राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्यले ४५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस आयोजनाको समग्र भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति करिब ५२ प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ ।



काठमाडौँको खोकनाबाट सुरु भई मकवानपुर हुँदै बाराको निजगढमा पुग्ने कुल ७६.२ किलोमिटर लामो यस द्रुतमार्गलाई तराई–काठमाडौं जोड्ने सबैभन्दा छोटो, सुरक्षित र आधुनिक मार्गका रूपमा विकास गरिँदैछ ।
आयोजनाअन्तर्गत पर्ने दुर्गम पहाडी भूभाग, चुरे क्षेत्र तथा तराईका समथर भूगोलमा एकैसाथ निर्माण कार्य अघि बढाइएको छ । सातमध्ये पाँच सुरुङ निर्माणाधीन द्रुतमार्ग आयोजनाअन्तर्गत खोकना–लेनडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिस्नेरी र माउलीभीर क्षेत्रमा गरी सातवटा सुरुङ निर्माण गरिनेछ । तीमध्ये हाल पाँचवटा सुरुङ निर्माणाधीन अवस्थामा रहेका छन् । नेपाली सेनाका अनुसार मकवानपुरको धेद्रे र लेनडाँडामा दुई–दुई गरी चारवटा सुरुङ ‘ब्रेकथ्रु’ भइसकेका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुईवटा सुरुङ ब्रेकथ्रु गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ ।




सबै सुरुङको कुल लम्बाइ ५ किलोमिटरभन्दा बढी हुनेछ । ८७ पुलमध्ये १३ सम्पन्न, १५ यसै वर्ष सक्ने लक्ष्य द्रुतमार्गमा साना तथा ठूला गरी जम्मा ८७ वटा पुल निर्माण गरिनेछ । हालसम्म काठमाडौंको धर्सेभन्दा अग्ला, अधिकतम ४२ मिटर उचाइका विशेष प्रविधियुक्त १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आयोजनाअन्तर्गत ८५ स्थानमा पुल निर्माणका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयन चरणमा रहेको छ ।



बाँकी चार स्थानमा भने जग्गा अधिग्रहणसम्बन्धी समस्या देखिएको आयोजनाको कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये ५४ वटा पुलको फाउन्डेसन तथा ३४ वटा पुलको सब–स्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १५ वटा पुल निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । सबै पुलको कुल लम्बाइ १९ किलोमिटरभन्दा बढी हुनेछ । सडक, टोल प्लाजा र इन्टरचेन्ज निर्माण आयोजनाअन्तर्गत हालसम्म ११ किलोमिटर सडकखण्डमा सब–बेस तथा सर्भिस लेनमा कालोपत्रे सम्पन्न गरिएको छ । निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण सम्पन्न भइसकेको छ भने इन्टरचेन्ज निर्माण कार्य जारी छ ।



खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज निर्माण गरिनेछ । जग्गा अधिग्रहण अधिकांश सम्पन्न आयोजनाका लागि आवश्यक कुल १५ हजार ४१६ रोपनी जग्गामध्ये खोकना क्षेत्रबाहेक अन्य क्षेत्रमा जग्गा अधिग्रहण कार्य अधिकांश रूपमा सम्पन्न भइसकेको छ । खोकना क्षेत्रमा भने स्थानीय तह र बासिन्दासँग समन्वय गर्दै समस्या समाधानको प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ । लागत, समयसीमा र राष्ट्रिय महत्व फास्ट ट्र्याक आयोजनाको प्रारम्भिक अनुमानित लागत करिब २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । आयोजनालाई विसं २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ ।
यो द्रुतमार्ग एसियाली हाइवे मापदण्डअनुसार निर्माण भइरहेको नेपालको पहिलो द्रुतमार्ग हो । निर्माण सम्पन्न भएपछि काठमाडौं–तराई यात्रा समय घटेर करिब १ घण्टा ३० मिनेटमा सीमित हुने अनुमान गरिएको छ । आर्थिक विकासको मेरुदण्ड द्रुतमार्ग निर्माण सम्पन्न भएपछि यातायात सहज, सुरक्षित र छिटो मात्र होइन, देशको आर्थिक विकासमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ । उद्योग, व्यापार, पर्यटन र लगानी विस्तारमा यसले ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ ।


प्रधानमन्त्री सुशील कोइरालाले हालै आयोजना स्थलको निरीक्षण गर्दै स्थानीय भावनाअनुसार धार्मिक, सांस्कृतिक सम्पदा र सामाजिक संरचनामा असर नपर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए । ढिलाइका कारण र वर्तमान गति आयोजनाको प्रारम्भिक चरणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिमा ढिलाइ हुँदा काम प्रभावित भएको थियो ।
तर हाल सबै प्राविधिक तथा प्रशासनिक समस्या क्रमशः समाधान हुँदै गएपछि निर्माण कार्यले अपेक्षित गति लिएको नेपाली सेनाले जनाएको छ । काठमाडौं–तराई मधेश द्रुतमार्गलाई मुलुकको आर्थिक रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिक आयोजना का रूपमा लिइएको छ । हालसम्मको प्रगति सन्तोषजनक देखिएको भन्दै आगामी दिनमा थप तीव्रताका साथ काम अघि बढाइने जनाइएको छ ।












प्रतिक्रिया