पहिलोपटक पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता

752
Shares

पोखरा । वि.सं. २०७५ मा पोखरा रंगशालास्थित फुटबल मैदान स्तरोन्नतिका लागि शिलान्यास गरियो । तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १ अर्ब २८ करोड लागतको १७ हजार पाँच सय दर्शक क्षमतासहितको फुटबल स्टेडियमको शिलान्यास गरे । मैदान निर्माणको काम शुरु भयो, पटक–पटक म्याद थप गर्दै काम अघि बढ्यो । ६ महिनामा सक्ने गरी राष्ट्रिय खेलकुद परिषद्ले पोखरा फुटबल स्टेडियम निर्माण गर्न भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्स्ट्रक्सन जाउलाखेल खेल ललितपुर (जेभी) सँग सम्झौता गरेको थियो ।

२०७६ सालमा काठमाडौं र पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) शुरु भयो । पोखराले ६ खेल पायो, जसमा महिला फुटबलसमेत समावेश भयो । बन्दै गरेको मैदानमै महिला फुटबल खेलाइयो ।

अहिले त्यसको ठ्याक्कै सात वर्ष बितिसक्यो । यो बीचमा न पोखराले अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता ल्याउन सक्यो, न त अखिल नेपाल फुटबल संघ (एन्फा) ले नै पोखरालाई खेल दियो । नयाँ संरचनासहितको निकै आकर्षक देखिने पोखराको फुटबल मैदानले कुनै खेल पाएन । सात वर्षसम्म आहा रारा गोल्डकप र सानातिना स्थानीय स्तरका खेल मात्रै भए ।
अन्तर्राष्ट्रिय खेलविहीन पोखराले नयाँ संरचना बनेपश्चात् पहिलोपटक ठूला खेलकुद प्रतियोगिता पाएको छ । पोखरामा शनिबारदेखि साफ यु १९ महिला च्याम्पियनसिप आयोजना भइरहेको छ । नेपालसहित भारत, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।

तर यो प्रतियोगिता समेत पोखरामा सहजै भने हुने थिएन । उसो त अर्बौ रकम खर्चिएर निर्माण गरिएको मैदानमा अन्तर्राष्ट्रिय खेल नभइरहेको अवस्थामा झन् राष्ट्रिय लिग गर्नका लागि समेत अयोग्य देखिएको मैदानले कतै त्यही खेलसमेत पोखराबाट खोसिने हो कि भन्ने थियो ।

पोखरामा प्रतियोगिता गराउने भएपछि साफका प्रतिनिधि र एन्फाका प्रतिनिधिले पोखराको मैदानको अवस्था हेर्न फिल्डमै आए । फिल्डमा आएपछि निष्कर्ष निस्कियो, ‘मैदान अयोग्य, प्लेयर बक्स, प्लेयर चेन्जिङ रुम फिफा मापदण्डअनुसार छैन, बनाउनुपर्छ ।’ यसले पुनः समस्या खडा ग¥यो ।

कतै यही खेल पनि पोखराबाट फुत्कने पो हो कि भन्ने देखियो । तर, कास्की जिल्ला फुटबल संघ, गण्डकी प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिले आफूहरुले प्रतियोगिताअगावै ती कुरालाई फिफा मापदण्डअनुसार बनाउने प्रतिबद्धता दिए । अन्ततः साफ र एन्फाले स्वीकार ग¥यो । विभिन्न दाता खोजी गर्दै ती सबै संरचना निर्माणको काम अघि बढ्यो ।
एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेलले फिफाले स्वीकृत नगरेको मैदानमा प्रतियोगिता गराउन आफूहरुले नपाउने सुनाए । पोखरामा खेल गर्ने एन्फाको निर्णयपश्चात् आफूहरु पोखराको अवलोकन गर्न आउँदा मैदान र सुरक्षाको व्यवस्था मुख्य समस्या देखिएको बताए ।

‘साफको खेल सिटी सेन्टरभन्दा बाहिर लग्ने भन्ने हाम्रो योजना हो । हामी मंसिरमा यहाँ आएर हे¥यौ, उहाँहरुबाट मैले कमिटमेन्ट पाएँ । मलाई ग्राउन्ड राम्रो चाहियो, सेक्युरिटी राम्रो चाहियो भने पनि २ महिनाको समय माग्नुभयो, अहिले ग्राउन्ड हेर्दा र उत्साह देख्दा टुर्नामेन्ट राम्रै हुन्छ’, कट्टेलले भने, ‘यो फिफाअन्तर्गतको प्रतियोगिता हो । फिफापछि एन्फाले जहाँ भन्यो हामीले त्यहीँ गर्ने हो, पोखरा एन्फाले राजेको हो । मैले भनेर वा यहाँको जिल्ला प्रदेशले भनेर प्रतियोगिता आउने होइन, एउटा स्ट्यान्डर्ड हुन्छ, त्यो अनुसार हामी अघि बढ्ने हो ।’

अब साफ यतिमा मात्रै नरोकिने उनले बताए । साफको प्राविधिकलाई ल्याएर अबको २ वर्षपछि नेपालमा आयोजना हुने साफ फुटसल प्रतियोगितालाई समेत पोखरा ल्याउन सकिने र त्यसका लागि आवश्यक पूर्वाधारको तयार गर्नुपर्ने उनी बताउँछन् ।
उनी भन्छन्, ‘यतिमा मात्रै हामी रोकिँदैनौं । फुटसल पनि यहाँ गर्न सकिन्छ ।

अब साफका प्राविधिक आउँछन्, उनीहरुलाई म यो ठाउँ (बहुउदेश्यीय कभर्ड हल) देखाउँछु । सबै राम्रो भयो भने २ वर्षपछि पोखरामा फुटसल पनि गर्न सकिन्छ, जुन पोखराको लागि ठूलो अवसर बन्नेछ र फुटसलको उत्सव हुनेछ ।’

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले पोखरामा प्रतियोगिता गर्न पाउनु नै सौभाग्यको कुरा भएको सुनाए । उनले पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आएको बताए ।

‘हामीले संरचना बनाएर मात्रै हुदैन रहेछ, त्यो कत्तिको योग्य छ भन्ने कुरा पनि महत्वपूर्ण रहेछ । यो संरचना बनेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुन सकेको थिएन, पहिलोपटक पाएका छौं’, उनले भने, ‘यो अवसर पनि हो, धेरै कुरा थियो, पूर्वाधार नहुँदा खेल सरेको थियो, अहिले हामीले पूर्वाधार खडा गर्छौं भनेपछि ठीक छ भन्नुभयो ।’
उनका अनुसार पूर्वाधारविना ठूला खेल सम्भव छैनन् । अहिले चाहिने पूर्वाधार तयार गरिएको उनले बताउँदै अझ के चाहिन्छ, यो दुई दिनमा तयार गर्ने सुनाए ।