नेपाली माउन्टेन बाइकिङको आकाशमा चम्किएकी नक्षत्र उषा खनाल

साइकलबाट सपनालाई यथार्थमा बदलेकी ‘डबल गोल्ड मेडलिस्ट’

0
Shares

नेपाली महिला माउन्टेन बाइकिङको आकाशमा एउटी जाज्वल्यमान नक्षत्रका रूपमा उदाएकी नाम हुन उषा खनाल । हिमालका पदचापहरू सँगसँगै कुँदिएका साँघुरा र जोखिमपूर्ण ट्रेलहरू, जहाँ पातलो हावा र गुरुत्वाकर्षणले हरेक पल साहसको अग्निपरीक्षा लिन्छन्, त्यहीँ झन्डै एक दशकदेखि उषाले आफ्नो पसिना र संकल्पको कथा लेखिरहेकी छिन् । धुलोले भरिएको हेल्मेट, पसिनाले निथ्रुक भिजेको अनुहार र पटक–पटकका चोटहरूले सजिएको उनको शरीरले एउटा सामान्य खेलाडीको मात्र होइन, बरु दृढ इच्छाशक्ति भएकी एक योद्धाको परिचय दिन्छ । गोरखाको देउरालीका शान्त डाँडाकाँडाबाट सुरु भएको उनको जीवनयात्रा केवल पदक र पोडियमको चमकधमकमा मात्र सीमित छैन । उनको यात्रा सामाजिक घेराबन्दी र डरका पर्खालहरू भत्काउँदै अघि बढेको एउटा प्रेरणादायी संघर्षको कथा हो ।

सन् १९९२ मा जन्मिएकी उषाको सुरुआती जीवन कुनै खेलकुदीय विरासतबाट प्रारम्भ भएको थिएन । काठमाडौँको उल्लेन्स किन्डरगार्टेनमा साना नानीबाबुहरूलाई अक्षर चिनाउँदै गर्दा उनको दिनचर्या निकै सुरक्षित र स्थिर देखिन्थ्यो । तर, त्यो शान्त आवरणभित्र एउटा यस्तो विद्रोही मन लुकेको थियो, जो पहाडका चुचुराहरूसँग मितेरी लगाउन र हिलो अनि ढुङ्गाका घुम्तीहरूमा आफ्नो साहस परीक्षण गर्न आतुर थियो । सन् २०१५ मा हात्तीवनको जंगलमा माउन्टेन बाइकहरू उकालो–ओरालो गरिरहेको दृश्य देखेपछि उनको जीवनको लय नै बदलियो । एउटा साधारण कौतुहलताबाट सुरु भएको त्यो आकर्षण चाँडै नै यस्तो जुनूनमा परिणत भयो, जसले उनलाई शिक्षिकाको मार्कर र ह्वाइट बोर्ड छोडाएर साइकलको ह्यान्डल समात्न बाध्य तुल्यायो।

आफ्नो सामान्य तलबबाट बचत गरेर व्यावसायिक माउन्टेन बाइक किन्नु उषाका लागि केवल खेल सामग्रीको खरिद गर्नु मात्र थिएन । बरु समाजले कोरिदिएको ‘सुरक्षित भविष्य’ को रेखाविरुद्धको एउटा मौन विद्रोह थियो । परिवार र छरछिमेकले यो नयाँ बाटोलाई सहजै स्वीकार्ने अवस्था थिएन, त्यसैले उनले केही समय आफ्नो सपना र साइकल दुवैलाई लुकाएरै राखिन् । तर, लुकाइएको त्यो सपनाभित्रको आगो झन् दन्किँदै गयो । उनको खेल जीवनको वास्तविक अग्निपरीक्षा नख्खीपोटको ‘अर्बन एक्ससीओ रेस’ मा भयो । जहाँ झरीले चिप्लो बनेको ट्रेलबाट लडेर उनी मकैबारीमा बजारिइन् । खुट्टामा गहिरो चोट लागेर रगत बगिरहँदा पनि उनले हार मानिनन्, बरु उठेर रेस पूरा गरिन् । अस्पतालमा सातवटा टाँका लगाउँदा समेत उनको मुहारमा पीडा होइन, खेलप्रतिको अदम्य निष्ठा झल्किन्थ्यो ।
सुरुवाती दिनमा गियर रेसियो र प्राविधिक ज्ञानको अभावले अलमलिए पनि उषासँग कहिल्यै नथाक्ने खुट्टा र कहिल्यै नहार्ने मन थियो । यही जुझारुपनले उनलाई सन् २०१६ को राष्ट्रिय च्याम्पियनसिपमा काँस्य हुँदै २०१७ को पाल्पा एमटिबी रेसमा स्वर्ण र २०१९ को १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदकको उँचाइसम्म पु¥यायो । कुनै समय उनको जोखिम देखेर डराउने अभिभावकहरू आज छोरीको सफलतामा हर्षका आँसु बगाउँदै गर्व गर्छन् । देश र विदेशका गरी दर्जनौं विश्वस्तरका चर्चित प्रतियोगिताहरुमा आफ्नो उपस्थितिलाई सार्थक बनाएकी उषाले आफूलाई केवल ट्रयाकमा मात्र सीमित राखिनन् । बरु मेकानिक र गाइडका रूपमा वर्कसपको ग्रीजसँग पौँठेजोरी खेल्दै शून्यबाट आफ्नो साम्राज्य खडा गरिन् । पुरुषको वर्चस्व रहेको यस क्षेत्रमा नेपालकै पहिलो महिला एएमजीए–प्रमाणित गाइड बन्नु र ‘मोक्ष’ डकुमेन्ट्रीमार्फत विश्वसामु चिनिनु उनको करियरका सुनौला पानाहरू हुन् ।

तर, सफलताको यो आरोहणमा सन् २०२० को एउटा भयावह दुर्घटनाले ठूलो धक्का लाग्यो । चारवटा जटिल शल्यक्रिया र “फेरि हिँड्न सकिएला कि नसकिएला” भन्ने अनिश्चितताका बीच पनि उषाले हार स्वीकार गरिनन् । उनले ती शारीरिक घाउहरूलाई आफ्नो कमजोरी होइन, बरु पुनरागमनको कवच बनाइन् । उनको पुनरागमन यति सशक्त रह्यो कि उनले डाउनहिल र क्रस–कन्ट्री जस्ता दुई भिन्न विधामा २४ घण्टाको अन्तरालमा दुई स्वर्ण पदक जितेर नेपालकै पहिलो ‘डबल गोल्ड’ विजेता महिला माउन्टेन बाइकर बनेर इतिहास रचिन् । यसबाहेक याक अट्याक, पोखरा माउन्टेनबाइक च्याम्पियनसिप र याला मेयर कप जस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा उनले आफ्नो दबदबा कायम राखिन् । यो उपलब्धि पदकमा मात्र सीमित थिएन, यो त नेपाली महिलाहरूका लागि सपनाको क्षितिज फराकिलो बनाउने एउटा शंखघोष थियो ।

अहिले नेपाल ओलम्पिक कमिटीबाट ओलम्पिक स्कलरसिप प्राप्त गर्ने पहिलो नेपाली महिला माउन्टेन बाइकर बनेसँगै उषाको काँधमा सिंगो देशको भरोसा थपिएको छ । भारत, चीन, स्कटल्याण्ड, अमेरिका लगायत थुप्रै अन्तर्राष्ट्रिय ट्रेलहरूमा आफ्नो छाप छाडिसकेकी उषाको नजर अब विश्वस्तरका ठूला मञ्चहरूमा छ । विशेषगरी आगामी विश्वस्तरका प्रतियोगिताहरु र ओलम्पिक छनोटका प्रतियोगिता उनका लागि मुख्य प्राथमिकतामा रहेका छन् । थोराङ ला पास जस्ता विश्वका कठिनतम उँचाइहरूमा साइकल कुदाएकी उषा अब ओलम्पिकको ट्रयाकमा नेपाली झण्डा फहराउने लक्ष्यका साथ कडा अभ्यासमा छिन् । आफूले स्थापना गरेको ‘हिमालयन वुमन ट्रेल’ जस्ता संस्थामार्फत अन्य महिलाहरूलाई पनि घरको चौघेराबाट बाहिर निकाल्न सक्रिय उनी केवल एक खेलाडी मात्र होइनन्, साहस र आत्मनिर्भरताको पर्याय बनेकी छिन् । नख्खीपोटको मकैबारीबाट सुरु भएको उनको यो संघर्षशील यात्राले यदि मनमा दृढ अठोटको बीजारोपण गर्ने हो भने संसारमा असम्भव केही पनि हँुदैन भन्ने एउटा स्पष्ट सन्देश दिन्छ ।