निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनका नमूना मतपत्र सार्वजनिक


काठमाडौँ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले सातै प्रदेशका निर्वाचन क्षेत्रअनुसार नमूना मतपत्र सार्वजनिक गर्दै ती मतदाता शिक्षाका लागि प्रयोग हुने जनाएको छ । उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार फरक–फरक बनाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

धेरै उम्मेदवार भएका क्षेत्रका मतपत्र ठूला र कम उम्मेदवार भएका क्षेत्रका साना रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भने सम्पन्न भइसकेको छ ।