बरालले सिन्धुली–१ मा घरदैलो अभियान सुरु गरे


काठमाडौं । 

सिन्धुली–१ बाट नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वल प्रसाद बरालले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेका छन्। शनिबार बिहान उनले गोल्नजोर गाउँपालिका वडा नं ५, खनियाखर्कमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै अभियानको सुरुवात गरे।

मतदाताले खनियाखर्कमा बराललाई जुनार दिएर स्वागत गरे। बरालले कार्यक्रममा रतनचुरा, नयाँखर्क, हिदिङ र धुराडाडाँ क्षेत्रका बासिन्दासँग व्यक्तिगत रूपमा भेटेर उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिए।

उक्त भेटघाटमा बरालले स्थानीय विकास, शिक्षा, स्वास्थ्य सुविधा र आधारभूत पूर्वाधारको सुधार जस्ता मुद्दामा आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले मतदातासँग संवाद गर्दै, जनताको आवश्यकतालाई आफ्नो आगामी राजनीतिक एजेन्डामा प्राथमिकताका साथ समेट्ने आश्वासन दिए।

बरालले भने, “जनताको आवाज सुन्नु र उनीहरूको समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ। हामी सबै मिलेर गाउँ र जिल्लाको समग्र विकासमा जुट्नुपर्छ।”

घरदैलो अभियान मार्फत उनले समुदायको नजिक पुग्ने र जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखेका छन्।