खोटाङको जन्तेढुङ्गामा बाँझो जमिनबाट ११ मुरी तिते फापर उत्पादन


खोटाङ ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गर्दै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजित एक लाख रुपैयाँ बजेटबाट उत्पादन गरिएको औषधीय गुणयुक्त तिते फापर प्रतिकेजी ९० रुपैयाँमा बिक्रीका लागि राखिएको गाउँपालिकाले जनाएको छ।

वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कस्थित सार्वजनिक तथा पर्ती जमिनमा खेती गरिएको तिते फापर खनजोत, रोपाइँ र कटाइका लागि ज्यालादारी कामदार प्रयोग गरिएको थियो। यसअघि सोही क्षेत्रमा बाँझो जमिन प्रयोग गरी छ हजार केजी आलु उत्पादन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउने लक्ष्यसहित उत्पादनमा जोड दिँदै आएको छ। आगामी आर्थिक वर्षमा पनि भञ्ज्याङखर्क क्षेत्रमा आलुखेती विस्तार गर्ने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ।