विकट फोत गाउँमा ४० मतदाता, सुविधा अभावले जीवन कष्टकर


काठमाडौँ ।

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–६ अन्तर्गतको फोत गाउँमा कुल ८५ जनसंख्या रहेको छ भने यसपटक ४० जना मतदाता छन्। तीमध्ये २१ पुरुष र १९ महिला रहेका छन्। ०७९ को निर्वाचनमा ३४ मतदाता रहेकोमा यसपटक ६ जना थपिएका हुन्।

जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठका अनुसार मतदाता संख्या थोरै भएकाले फोत गाउँमा प्रायः शतप्रतिशत मतदान हुने गरेको छ। ०७९ मा ३१ मत खसेको थियो। सदरमुकाम दुनैबाट फोत गाउँ पुग्न ५–६ दिन लाग्ने र गाउँ अत्यन्तै विकट रहेको उनले बताए।

गाउँमा विद्यालय, स्वास्थ्य चौकी, सडक, विद्युत् र सञ्चारजस्ता आधारभूत सेवा नहुँदा स्थानीयले कष्टपूर्ण जीवन बिताइरहेका छन्। वडा सदस्य कोइजोर गुरुङका अनुसार बालविकास केन्द्रको भवन भए पनि शिक्षक नहुँदा सञ्चालन हुन सकेको छैन। स्वास्थ्य उपचारका लागि एक दिन हिँड्नुपर्ने बाध्यता छ भने आकस्मिक अवस्थामा हेलिकप्टर चार्टर गर्नुपर्दा ठूलो आर्थिक बोझ पर्ने गरेको छ।

स्थानीयको मुख्य आम्दानी यार्सागुम्बा संकलन हो। हिउँदमा अत्यधिक चिसो र हिमपातका कारण अधिकांश बासिन्दा बेंसी झर्ने गर्छन्। यसपटक भारी हिमपातका कारण मतदान केन्द्रसम्म पुग्न ज्यान जोखिममा पर्ने भएकाले आफू चुनावमा सहभागी हुन नसक्ने वडा सदस्य गुरुङले बताए।