‘हाटा’ गर्ने शिक्षक र कर्मचारीलाई डण्डा लगाउन डिजिटल हाजिरी

470
Shares

-दिवा खाजाका लागि विद्यार्थीको पनि डिजिटल हाजिरी अनिवार्य गरिँदै

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले हाजिर गरेर टाप कस्ने (हाटा) गर्ने शिक्षक र कर्मचारीलाई तह लगाउन सबै विद्यालयमा अनिवार्य रूपमा डिजिटल हाजिरी गर्ने व्यवस्था गरेको छ । शिक्षकमात्र नभएर कागजमा बढी संख्या देखाएर दिवा खाजा र किताबको शुल्क असुल्ने प्रधानअध्यापकलाई पनि कडाइ गर्न तथा सबै विद्यार्थीलाई अनिवार्य डिजिटल हाजिरीको व्यवस्था गरेको छ । केही विद्यालयले दिवा खाजाका लागि विद्यार्थी संख्या बढी देखाएर रकम लिने गरेको गुनासो कामपमा परेको थियो ।

कामपाका कार्यवाहक मेयर सुनिता डंगोलले सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन दिनुभएको छ । कार्यवाहक मेयर डंगोलको सो निर्देशन पहिलो चरणमा १० विद्यालय र आगामी शैक्षिक सत्रभित्र सबै विद्यालयमा लागू हुने कामपाले बताएको छ ।

शिक्षक र कर्मचारीका लागि केही दिनमा सहज होला, विद्यार्थीको हकमा करिब अढाइ महिनापछि सुरु हुने नयाँ शैक्षिक सत्रपछिमात्र लागू हुने सम्भावना छ ।

काठमाडांै महानगरपालिका सामुदायिक विद्यालयका अध्यक्ष राजेन्द्र अधिकारीले कामपाले गरेको निर्णय उचित भएको जिकिर गर्दै भन्नुभयो– ‘कार्यवाहक मेयर डंगोलले दिनुभएको निर्णय कार्यान्वयन भएको छ । हिजो बुधबारबाट १० वटा विद्यालय छनौट गरी अभ्यास सुरु गरिएको छ ।’

यसअघि निर्वतमान मेयर बालेन्द्र साहको कार्यकालयमा सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीलाई डिजिटल हाजिर अनिवार्य गर्ने विषय उठेको थियो । स्रोतका अनुसार मेयर सचिवालय, प्रसाशन र सूचना विभागबीच समन्वय नभएको कारण त्यतिखेर यो काम रोकिएको थियो । कामपाभित्र २६ आधारभूत, ५८ मावि, २०९ प्रारम्भिक बालविकास केन्द्र, ४ विशेष विद्यालय, २३ वैकल्पिक, ११ धार्मिक, २८ सामुदायिक सिकाइ केन्द्र र ४२५ संस्थागत गरी ७८४ विद्यालय छन् ।

तीमध्ये आधारभूत र सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीलाई डिजिटल हाजिरीको व्यवस्था गर्न लागेको हो । तथ्याङ्कअनुसार २ लाख ८३ हजार ७३२ विद्यार्थीमध्ये सामुदायिकमा अध्ययनरत आधारभूत तह (१ देखि ५ कक्षासम्म) का १६ हजार ५५२, आधारभूत तह ६ देखि ८ कक्षासम्मका १४ हजार २१३, माध्यमिक तह ९ देखि १० का १२ हजार ८९६ र माध्यमिक तह ११ देखि १२ का १२ हजार ५४० विद्यार्थीको डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको हो ।

कार्यवाहक मेयर डंगोलले दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउन निर्देशन दिनुभएको छ । शिक्षा विभागको ब्रिफिङ गर्ने क्रममा उहाँले एक हप्ताभित्र नतिजा ल्याउन निर्देशन दिँदै शैक्षिक सुधारका विषयमा भन्नुभयो, ‘एसईईको परीक्षा नजिक आउन लागेको छ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थपलगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु । तथ्यले नतिजामा सुधार देखिनुपर्छ । यसमा छुट सुविधा कसैलाई हुँदैन ।’

छलफलमा दर्ता भएका तर सञ्चालनमा नरहेका विद्यालयहरूको खारेजी प्रक्रिया, सामाजिक विकास विभागअन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरूको व्यवस्थापन, विद्यालय स्तरका खेल र अतिरिक्त क्रियाकलापलगायत विषयलाई व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो ।