नेपाल र रुसबीच साझा संस्कृति मूल्यको सन्देश प्रवाह गर्दै ‘विथ लभ फ्रम रस्सिया’ 


 काठमाडौं। 

राजधानीस्थिति रुसी सांस्कृतिक केन्द्र (रुसी सदन) ले प्रख्यात रुसी कलाकार मारिया सेमेनोभाको ‘विथ लभ फ्रम रस्सिया’ शीर्षकको चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । रुसी सदनमा आगामी माघ २३ गतेसम्म चल्ने उक्त प्रदर्शनीको बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुभएको थियो ।

नेपाल–रुसबीचको मित्रता र सांस्कृतिक सम्बन्धलाई कलामार्फत सुदृढ गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीले दुवै देशबीचको भावनात्मक र सांस्कृतिक सेतुको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा कलाकार मारिया सेमेनोभाले आफ्ना यी सिर्जनाहरूले प्रेम, सिर्जनशीलता र साझा सांस्कृतिक मूल्यहरूको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले  आफ्नो कलायात्रा र सिर्जनाहरूको प्रेरणाबारे विचार राख्दै कलालाई भावना र सम्बन्धको सार्वभौमिक भाषा भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि कूलपति राईले एक विशिष्ट साहित्यकार तथा सांस्कृतिक व्यक्तित्वले कला र साहित्यले नेपालको सांस्कृतिक तथा शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने र नेपाल–रुस सम्बन्धलाई अझ मजबुत गर्ने भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले अन्तर्राष्ट्रिय कला आदान–प्रदानको महत्त्वमाथि प्रकाश पार्दै यस किसिमको पहलले गहिरो सांस्कृतिक समझदारी विकास गर्न सहयोग पुग्ने बताउनुभयो।

रूसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभाले कला मानिस–मानिसबीचको सम्बन्ध सुदृढ गर्ने सशक्त माध्यम भएको जिकिर गर्दै नेपाल र रुसबीचको सांस्कृतिक संवादलाई प्रवद्र्धन गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा कलाकार मारिया सेमेनोभाले प्रमुख अतिथि राईलाई एक चित्रकला उपहारस्वरूप प्रदान गर्नुभयो भने रूसी सदनकी निर्देशकले विशेष अतिथिलाई नेपाली कलामा उहाँको योगदानको कदरस्वरूप सम्मान–चिन्ह प्रदान गर्नुभएको थियो ।