पर्वत।
पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदी खोलामा ‘आर्क ब्रिज’ निर्माणकार्य सुरु भएको छ ।
राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको तीन वर्ष पछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदी गाउँपालिका वटा नं. २ पातीचौर र वडा नं. ६ डिमुवा जोड्नेगरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।
आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत पुल विभागवाट गत वैशाखमै स्वीकृत भएको थियो । इन्जिनियर मिश्रका अनुसार अहिले पुलको जग खन्ने काम भैरहेको छ । ६२ मिटर लामो उक्त पुलको चौडाई ११ मिटर हुने छ । डबल स्पानको यो पुल निर्माणका लागि सात करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भैसकेको छ ।
पुल निर्माणका लागि २०७९ साल भदौ २८ गते लुम्बिनी-प्राकृतिक जेभी काठमाण्डौँसँग सम्झौता भएको भएपनि डिजाइन स्वीकृत हुन समय लागेकाले ढिलो गरी निर्माण सुरु भएको हो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक पाँचवटा पुल निर्माणका लागि सम्झौता भएको थियो । हालम्म पर्वत खण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण सम्पन्न भएको छ । दोस्रो सुन्दरेखोलामा निर्माण कार्य भैरहेको छ । तेस्रो मोदी खोलामा प िगत महिनादेखि निर्माण सुरु भएको छ । भने पातीखोलामा बन्ने दुईवटा पुलको डिजाइन अन्तिम चरणमा पुगेको इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो ।
मोदीखोलाको पुलको निर्माण अवधि आगामी भदौ मसान्तसम्म रहेको छ । अवधि सकिएपनि पुनः म्याद थपिने उहाँको भनाई छ । अहिले मोदी खोलामा ३५ वर्ष अघि बनेको पुरानो र जीर्ण पुलवाट सवारीसाधन संचालन भैरहेका छन् । पुरानो पुललाई विस्थापित नगरिकन सोहि पुलभन्दा तलपट्टि आर्क ब्रिज बनाउन थालिएको हो ।
अत्याधिक संख्यामा र उच्च भारवहन क्षमताका समेत सवारीसाधन यो राजमार्गमा संचालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबल पुल भन्दा बलियो, टिकाउ उच्च भारवहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इन्जिनियर मिश्रको भनाई छ ।
यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङकासँगै रुकुमका लागि सवारीसाधन आउजाउ गर्ने गर्दछ । अब पातीखोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२-५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृत भैसकेको भएपनि जग्गा अधिग्रहणमा ढिलाई भएकाले पुल निर्माण सुरु हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख शम्भु आचार्यले बताए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भैसकेको छ । सडक दुई लेनको बनेपनि पुरानो संरचनामा बनेका सिंगल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुलहरू थप गर्ने योजना अनुरुप पुल निर्माणको कार्य भैरहेको कार्यालयले जनाएको छ ।











प्रतिक्रिया