‘अपराध न्यूनीकरण र कानुनी कारबाहीलाई तीव्र बनाउँछौँ’ : प्रनाउ बस्नेत

1.13k
Shares

लमजुङ। 

जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रमुखको रुपमा आउनु भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत र जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी नायब उपरीक्षक बस्नेत यसअघि दुई वटा इलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ भने पहिलो पटक जिल्लाको प्रमुखको भूमिकामा लमजुङमा कार्यभार सम्हाल्न आउनु भएको हो ।

प्रहरी सेवामा २७ वर्ष लामो अनुभव हासिल गर्नुभएका डीएसपी बस्नेतले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताउनुभयो । साथै अपराधको पहिचान गरी कानुनी दायरामा ल्याएर आवश्यक कारबाही गरिने उहाँको भनाइ छ । उहाँले प्रहरी संगठनलाई नीति, नियम र व्यावसायिकताको आधारमा अघि बढाइने तथा नागरिकमैत्री सेवा प्रवाहमा जोड दिइने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, केन्द्रीय सदस्य कृष्ण केसी, पूर्व केन्द्रीय सदस्य नवीन कुइकेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, पूर्व अध्यक्ष आश गुरुङ, रेडियो मर्स्याङदीका निर्देशक मिना गुरुङ लगायतले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन आग्रह गरेका छन् । पत्रकारहरुले निष्पक्ष, सुरक्षित र मर्यादित निर्वाचन सम्पन्न गराउन प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै निर्वाचन अवधिमा हुने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष ध्यान दिन सुझाव दिएका थिए ।

साथै पत्रकारहरुले मतदान केन्द्रको सुरक्षा, उम्मेदवार तथा मतदाताको सुरक्षाको सुनिश्चितता, ट्राफिक व्यवस्थापन तथा सूचना सम्प्रेषणमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए ।