खोटाङका २१ मतदानस्थल अति संवेदनशील

564
Shares

खोटाङ

 आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा निर्धारित २१ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्धारण गरिएको १ सय ३६ मतदानस्थलमध्ये २१ स्थल अति संवेदनशील रहेको  जिल्ला सुरक्षा समितिले जनाएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा निर्धारण गरिएका मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जनाउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना अन्तरगत मतदानस्थलहरु निरीक्षण तथा अनुगमन गरिएको सहायक प्रजिअ राईको भनाई छ ।  उक्त अनुगमन प्रतिवेदनको आधारमा जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेका उहाँले बताउनुभयो । मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउने जनाइएको छ । 

निर्वाचनका लागि निर्धारण गरिएका १ सय ३६ मतदानस्थलमा १ सय ९५ वटा मतदान केन्द्र रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वर्षको निर्वाचनमा एक लाख ४७ हजार १ सय २० जना मतदाता मतदानका लागि योग्य रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताउनुभयो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन भए-नभएको अनुगमन तथा कारबाहीका लागि दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे-नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना नेताहरु उम्मेदवारी दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आ–आफ्ना चुनावी एजेन्डा लिएर जनताको घरदैलो पुगिरहेका छन् ।