२०२७ को मार्चमा दक्षिण एसियाली खेलकुद


काठमाडौं ।

१४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ को मार्चमा पाकिस्तानमा आयोजना हुने भएको छ ।
पटक–पटक मिति सारेपछि अन्योलमा परेको १४औं साग अब सन् २०२७ को मार्च २३ देखि ३१ सम्म आयोजना हुने भएको हो । उज्वेकिस्तानको तास्कन्दमा आयोजित ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ४६औं महासभाका क्रममा दक्षिण एसियाली ओलम्पिक कमिटीहरूको साइडलाइन बैठकले यो नयाँ मिति तय गरेको हो ।

ओसीएका उपाध्यक्ष प्रिन्स जिग्येल उगेन वाङचुकको अध्यक्षतामा बसेको सो बैठकमा नेपाल सहित आठै देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकले विशेष परिस्थितिमा खेलको मिति एक सातासम्म तलमाथि गर्न सकिने लचकता राखे पनि यसअघि तय गरिएका खेल विधा र इभेन्टहरूलाई भने यथावत राख्ने सर्वसम्मत निर्णय गरेको छ ।

सन् २०१९ मा नेपालमा सम्पन्न १३औं सागको समापनसँगै झण्डा बुझेको पाकिस्तानले चार वर्षको अन्तरालमा सन् २०२३ मै प्रतियोगिता गर्नुपर्ने थियो, तर आन्तरिक र प्राविधिक कारणले मिति पटक–पटक सर्दै आएको थियो । यो संस्करणमा भारतको सहभागिता भने राजनीतिक उतारचढावका कारण अझै पनि भारत सरकारको अन्तिम स्वीकृतिमा निर्भर रहने देखिएको छ ।

क्षेत्रीय सहकार्य र खेलकुदको दिगो भविष्यका बारेमा छलफल भएको यस बैठकले सन् २०२६ को मे महिनामा तयारीको समीक्षा गर्न सदस्य राष्ट्रहरूलाई पाकिस्तान भ्रमणको निम्तो समेत दिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ सहभागी उक्त बैठकले ओसीएको नयाँ नेतृत्वलाई बधाई दिँदै दक्षिण एसियाली खेलकुदलाई नयाँ उँचाइमा पु¥याउने प्रतिबद्धता समेत जनाएको छ ।