खराब मौसमका कारण काठमाडौँमा तीन विमान डाइभर्ट, चार आकाशमै होल्ड


काठमाडौँ ।

काठमाडौँ उपत्यकामा आज बिहानदेखि परेको खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ। मौसम प्रतिकूल बनेपछि काठमाडौँ आउने तीनवटा विमानलाई वैकल्पिक विमानस्थलतर्फ डाइभर्ट गरिएको छ भने चारवटा विमान आकाशमै होल्ड भएर मौसम सुधारको प्रतीक्षामा रहेका छन्।

घना बादल, कमजोर भिजिबिलिटी र निरन्तर वर्षाका कारण अवतरणमा समस्या आएपछि विमानस्थल प्रशासनले सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय लिएको जनाएको छ। डाइभर्ट गरिएका विमानहरू भारतका नजिकका विमानस्थल पठाइएको बुझिएको छ।

मौसममा सुधार आएपछि होल्डमा रहेका विमानहरूलाई क्रमशः अवतरण गराइने विमानस्थल स्रोतले जानकारी दिएको छ। खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित भएको र यात्रुहरूलाई असहजता भएको छ।