दोलखा।
उच्च पहाडी भेगमा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक क्षेत्रमा बुधवार यो वर्षको पहिलो हिमपात भएको छ । बुधवार बिहान झन्डै एक घण्टा हिमपात भएर रोकिएको र साँझमा पुनः हिमपात भएको स्थानीयले बताएका छन् ।

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा बुधवार बिहान नौ बजेतिर झन्डै एक घण्टा हिमपात भएको र साँझ ४ः४५ बाट पुनः हिमपात सुरु भएको कालिञ्चोक कुरीमा रहेको होटल सुनपातीका बिमल ओझाले बताए ।

बर्षकै पहिलो हिमपात भएकोले पर्यटकहरु निक्कै रमाएको ओझाले बताए । साँझमा पनि चिसोको पर्बाह नगरी पर्यटकहरु हिउँमा रमाई रहेका छन्, ओझाले भने– कालिञ्चोकमा यो वर्षको पहिलो हिमपात भएकोले पनि सबै खुसी भएका छन् ।

विगत बर्षहरुमा कालिञ्चोकमा पुष– माघ देखि फागुन अन्तिमसम्मै हिमपात हुने गरेकोमा केही वर्षदेखि भने वर्षमा २-४ पटकमात्र हिमपात हुने गरेको स्थानीय बताउँछन् ।

कालिञ्चोकमा हिमपात भएको खबर पछि नेपालको विभिन्न ठाउँ र भारतबाट समेत पर्यटकले चासो दिन थालेको पर्यटन व्यवसायी एवं होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।











प्रतिक्रिया