मण्डनदेउपुरमा स्कुल भ्यान दुर्घटना, चालक च्यापिएपछि सशस्त्र प्रहरीद्वारा उद्धार


काभ्रे । 

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–९ बितौरी पोखरीस्थित हिगुवापाटी–चन्देनी सडकखण्डमा  बुधवार स्कुल भ्यान दुर्घटना हुँदा भ्यानभित्र च्यापिएकी महिला चालकको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ ।

नवप्रतिभा इङ्गलिस बोर्डिङ स्कुलका पाँच जना विद्यार्थी बोकेको बा १ ज ८६७२ नम्बरको भ्यान अचानक ब्रेक फेल भई सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनामा सोही स्थानकी २४ वर्षीया भ्यान चालक दीपिका ढकाल गम्भीर घाइते भएकी छन् ।

दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भरत न्यौपानेको कमान्डमा विपद् उद्धार सामग्रीसहित खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले भ्यानको सिट काटेर कम्मर मुनिको भाग च्यापिएको अवस्थामा रहेकी चालक ढकालको उद्धार गरेको हो ।

उद्धारपछि उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । उद्धारका क्रममा ढकालको कम्मर मुनिको भाग नचल्ने र बोल्न नसक्ने अवस्था रहेको जनाइएको छ ।

दुर्घटनामा परेका भ्यानमा सवार पाँचै जना विद्यार्थी भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।