काठमाडौं।
छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल र केरला राज्यमा निपा भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा रहेका छन् । यो भाइरस चमेरा र सुँगुर मार्फत फैलने जुनोटिक रोग हो र यसका संक्रमणले मानिसमा गम्भीर श्वासप्रश्वास र मस्तिष्कमा सूजन जस्तै जटिल समस्या ल्याउन सक्छ ।
हालै भारतका केही व्यक्तिमा संक्रमणका संदिग्ध-पुष्टि भएका घटनाले सबैलाई सचेत हुुनुपर्ने कुरा स्वास्थ्य विज्ञहरुले औँल्याएका छन् ।
निपा भाइरस पहिलो पटक सन् १९९९ मा मलेशियामा देखियो र त्यसपछि बङ्गलादेश तथा भारतमा केही आवधिक प्रकोपहरू देखा परेका छन् । यसले मानवमा संक्रमण हुँदा मृत्यु दर ४०% देखि ७५% सम्म र स्वास्थ्य सेवामा ठूलो भारका रूपमा देखा परेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई “प्राथमिकता पथोजन” का रूपमा वर्गीकरण गरेको छ, किनकि यसका लागि हालसम्म विशेष उपचार वा खोप उपलब्ध छैन ।
नेपालमा जोखिम कति?
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा संक्रमित घटनाबाट उत्पन्न जोखिमलाई ध्यानमा राखेर सीमा नाका (हवाई तथा स्थल) हरूमा निगरानी तीव्र पार्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उड्डयन र स्थलमार्गबाट आउने यात्रुहरूलाई उच्च तापक्रम जाँच, स्वास्थ्य घोषणा फाराम, र शंका लाग्ने लक्षण भएका व्यक्तिको आरटी–पीसीआर परीक्षण-निगरानी गर्ने प्रक्रियाहरू अघि बढाइनेछ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, नेपालमा हालसम्म निपा भाइरसको पुष्टि भइसकेको छैन, तर जमिनमा चमेरो प्राकृतिक रूपमा पाइने भएकोले संभावित जोखिमलाई बेवास्ता गर्नु हुँदैन । इन्फेक्सियस डिजिज विशेषज्ञहरू बताउँछन् कि निपा भाइरसको प्रारम्भिक लक्षणहरू ‘सामान्य ज्वरो र खोकी’ जस्ता साधारण समस्या जस्तो देखिन सक्छ, जुनले पहिचान ढिलो हुन सक्छ । यो शरीरमा विकास हुँदा १ देखि २ हप्ता समय लाग्न सक्छ । त्यसपछि केही केसमा मस्तिष्कमा सूजन, दुखाई, असजिलो र कोमामा पुग्ने सम्मका गम्भीर अवस्था उत्पन्न हुनसक्छ ।
टेकू अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार “यो भाइरस एउटा अत्यन्त घातक जन्य संक्रमण हो र श्वासप्रश्वास तथा मस्तिष्कमा प्रभाव पार्ने क्षमता भएकोले हामीले अत्यधिक सतर्कता अपनाउनुपर्छ । जोखिम भएको क्षेत्रमा यात्रा गरेका व्यक्तिमा ज्वरो, टाउको दुखाइ, खोकीलगायत लक्षण देखिँदा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।” निपा भाइरस शुरुमा सुँगुर फमाबाट मलेसियामा फैलिएको थियो । यो मानव–मानवको सिधा सम्पर्कले पनि फैलन सक्छ, खासगरी बिरामीको शरीरका रसायन-थुक-स्वासप्रश्वास मार्फत, जसले अस्पताल भित्रै फैलनुको जोखिमलाई झनै गम्भीर बनाउँछ ।
उनी भन्छन, यो रोगबाट जोगिन संक्रमित चमेरो र रोगग्रस्त जनावरबाटटाढा रहनुपर्छ । फलफूल र तरकारी राम्रोसँग धोएको-काटेर मात्र खानुपर्छ । ज्वरो, खोकी, श्वासप्रश्वास समस्या वा देखिएमा छिटो स्वास्थ्य संस्थामा गै स्वास्थ्यकर्मीको सल्लाह अनुसार सुरक्षा अपनाउनुपर्छ । खुल्ला सिमा नाकाहरूमा लागू गरिएको तापक्रम जाँच र स्वास्थ्य घोषणा प्रक्रियालाई सबैले पालना गर्नुपर्छ । स्वास्थ्यकर्मीहरूले इन्फेक्शन प्रिभेन्सन कन्ट्रोलको कडाइका साथ पालन गर्नुपर्छ ।
स्वस्थ्य विज्ञहरुका अनुसार नेपालमा अहिलेको स्थितिले कोभिड १९ मा विश्व व्यापी रुपमा महामारी फैलँदा गरिएका जोखिम व्यवस्थापन पाठहरूलाई उपयोग गर्न आवश्यक देखिन्छ । निपा भाइरसको उच्च मृत्यु दर र लक्षणको तीव्रता हेर्दा, अग्रिम तयारी, जानकारी, स्वास्थ्य प्रणाली सुदृढीकरण र वैज्ञानिक आधारमा व्यवहार गर्ने रणनीति नै सुरक्षित मार्ग हो ।











प्रतिक्रिया