काठमाडौंमा मनाइयो होलोकास्ट स्मृति दिवस


काठमाडौँ ।

अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवस अवसरमा मंगलबार काठमाडौँस्थित इजरायली दूतावासले ‘जिक्रोन बासालोन– मेमोरी इन द लिभिङ रुम’शीर्षकमा विशेष कार्यक्रम आयोजना गर्‍यो।

सो कार्यक्रममा दोस्रो विश्वयुद्धका क्रममा नाजी शासन र सहयोगीहरूले मारिएका ६० लाखभन्दा बढी यहुदीहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गरियो। अन्तर्राष्ट्रिय होलोकास्टका लागि यो वर्षको नारा ‘गरिमा र मानव अधिकारका लागि होलोकास्ट स्मरण’ रहेको छ ।कार्यक्रममा सहभागीहरूद्वारा होलोकास्टका पीडितहरूको याद र मानवअधिकारको महत्त्वबारे प्रकाश पारियो।संयुक्त राष्ट्रसंघले सन् २००५ देखि हरेक जनवरी २७ लाई होलोकास्ट स्मृति दिवसका रूपमा मनाउँदै आएको छ।


कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बासले जातीय विभेद र कुनै पनि समुदायलाई समाप्त पार्ने सोच मानव इतिहासकै सबैभन्दा कालो समय भएको जिकिर गर्दै यस्ता अमानवीय घटनाहरू पुनरावृत्ति हुन दिन नहुनेमा जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै होलोकास्टले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको विकासलाई बल पुर्‍याएको बताए। उनले सन् १९४८ को विश्वव्यापी मानव अधिकार घोषणापत्र र नरसंहारविरुद्धको महासन्धिको महत्त्व उजागर गर्दै सबैले सम्मान तथा समानतापूर्वक जीवन यापन गर्न पाउनुपर्नेमा जोड दिए।


त्यसैगरी जर्मनीका राजदूत उडो भोल्ज र अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले पनि घृणा, द्वेष र विभेदविरुद्ध एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा होलोकास्ट जीवित साक्षी सोफिया गेलरले आफ्ना हृदयविदारक अनुभवहरू सुनाएको भिडियो देखाइएको थियो।उक्त भिडियो सन्देशमा सोफियाले होलोकास्टको त्रासदीबाट मुक्त भएर कसरी आफूले सामान्य र सुखी जीवन व्यतित गर्न पाएको भन्ने आत्म वृत्तान्त सुनाएकी थिएन । जर्मन नागरिककै कारण आफू मृत्युको मुखबाट जोगिएको बताउँदै उनले सबैलाई एउटै डालोमा राखेर हेर्न नमिल्ने भन्दै मानवताविरुद्धको यस्तो अपराध नदोहरियोस् भन्नाका लागि नयाँ पुस्ताले पनि होलोकास्टको इतिहास थाहा पाउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा मिस्टर डुगोको भिडियो पनि प्रदर्शन गरिएको थियो, जसले हरेक जनवरी १८ मा फलाफेल खानुको सकारात्मक र उत्सवपूर्ण परम्परा सुरु गरेको दृश्य प्रस्तुत गरिएको थियो।


कार्यक्रममा नेपाली विद्यार्थीहरूले सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै स्मरणको भावनालाई अझ सजीव बनाएका थिए। कूटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारी, सञ्चारकर्मी र इजरायलका मित्रहरूले सहभागिता रहेको उक्त कार्यक्रममा इजरायली दुताबासका उपप्रमुख जनान बेबरले होलोकास्ट शिक्षा, सहिष्णुता र मानवअधिकार प्रवर्द्धनमा इजरायलको प्रतिबद्धता दोहर्‍याइन्।