झापा बिर्तामोड बसपार्कको ५१ बिघा क्षेत्रफलभित्र चुनावी गतिविधि गर्न रोक 


भद्रपुर। 

झापा बिर्तामोड बसपार्कको ५१ बिघा क्षेत्रफलभित्र सबै राजनीतिक दलका सबैखाले चुनावी गतिविधि गर्न रोक लगाएका छन् । अर्जुनधारा नगरपालिका–११ र बिर्तामोड नगरपालिका–५ स्थित (झापा २) ५१ बिघा क्षेत्रफलमा रहेको बिर्तामोड बसपार्क क्षेत्रमा आगामी चुनाव केन्द्रित सबैखाले गतिविधि गर्न रोक लगाएको हो। 

झापा–२ नम्बर क्षेत्रका उम्मेदवारलाई ती क्षेत्रका स्थानीयबासिन्दाले गाउँ प्रवेशमा रोक लगाएका छन् । समस्या समाधानमा ठोस पहल नगरेको आरोप लगाउँदै स्थानीयले झापा–२ बाट उम्मेदवार बनेका सबै पार्टीका उम्मेदवारलाई गाउँ प्रवेशमा रोक लगाएका हुन् । उनीहरुले आइतबार सार्वजनिक कार्यक्रम गरेरै उद्घोष गरेका छन् ।

बिर्तामोड बसपार्कको ५१ बिघा क्षेत्रफलभित्र सबै राजनीतिक दलका सबैखाले चुनावी गतिविधि गर्न रोक लगाएको बसपार्क समन्वय समिति संयोजक सुजन सिवाकोटीले बताउनुभयो । समस्या समाधान नभएसम्म गाउँमा कुनै राजनीतिक गतिविधि गर्न नदिइने उहाँको भनाइ छ ।

बसपार्क क्षेत्रको चारै दिशामा ठूला –ठूला ब्यानर राखेर उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन गतिविधि निषेधित क्षेत्र लेखिएको ब्यानरसमेत लगाएका छन् । चुनाव विरोधी होइनौँ तर,  समस्या समाधान नभएसम्मका लागि उम्मेदवार वा राजनीतिक दललाई यहाँ कुनै कार्यक्रम गर्न नदिने समन्वय समितिका सहसचिव शिवराज पौडेलले बताउनुभयो । बिगत दुई वर्षदेखि रोक्का रहेको ५१ विघा जग्गा फुकुवा गर्न कसैले पनि सहयोग नगरेको उहाँको भनाइ छ । ’

बिर्तामोड बसपार्क रहेको ५१ बिघा क्षेत्रफलमा एक हजार एक सय ५३ वटा कित्ता छन् । ती घडेरीमा ६ सयभन्दा बढी पक्की घरहरू बनेको समन्वय समितिका कार्यालय सचिव सुदीप दंगालले जानकारी दिनुभयो । आम भेलामार्फत गाउँमा चुनावी गतिविधि निषेध गरेको उहाँले बताउनुभयो । आन्दोलनका बारेमा उनीहरुले आइतबार माइकिङ गरेका थिए । 

बिर्तामोड बसपार्कको ५१ बिघा जग्गामा तीन दशकअघि गिरीबन्धु टी इस्टेटअन्तर्गत चिया बगान थियो । पूर्वपश्चिम राजमार्गसँग जोडिएको तथा पूर्वकै व्यापारिक केन्द्रको रुपमा बिर्तामोड बजार विकास भएपछि चिया बगान अन्यत्र स्थानान्तर गरेर उक्त ५१ बिघा क्षेत्रफललाई व्यावसायिक प्लटिङ गरिएको थियो ।

२०६२ सालदेखि घडेरीका रूपमा बिक्री थालिएको उक्त क्षेत्रफल अहिले पूर्ण रूपमा व्यावसायिक तथा आवासीय क्षेत्रको रूपमा परिणत भएको छ । बिर्तामोड र अर्जुनधारा नगरपालिकामा हाल चिया बगान रहेको गिरीबन्धु टी इस्टेटको ३ सय ४३ बिघा क्षेत्रफल तीन दशकअघि स्थानान्तर गरेको ५१ बिघाजस्तै स्थानान्तर गर्न पाउनुपर्ने सञ्चालकहरूको माग र उक्त माग कार्यान्वयन गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुई वर्षअघि फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि जिल्ला मालपोत कार्यालय झापाले बसपार्क क्षेत्रको एक हजार एक सय ५३ कित्ताको कारोबार रोक्का राखेको छ । व्यावसायिक तथा आवासीय घडेरी नै रोक्का भएपछि बसपार्क क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । 

उनीहरूले उक्त समस्या समाधानका लागि दुई वर्षयता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, निर्वतमान सभामुख एवम उम्मेदवार देवराज घिमिरे, निवर्तमान उपसभामुख एवम उम्मेदवार इन्दिरा रानामगर, भूमि सुधार मन्त्री बलराम अधिकारी, राप्रपा अध्यक्ष एवम क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्रप्रसाद लिङदेन, कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतलाई भेटर लिखित ध्यानाकर्षण गराएको उल्लेख छ ।

जिल्ला मालपोत कार्यालय, बिर्तामोड र अर्जुनधारा नगरपालिकाका मेयरलगायतका जनप्रतिनिधिसँग पनि पटक–पटक छलफल गरेका थिए । तर, कतैबाट सुनुवाइ नभएपछि चुनावको मुखमा निर्णायक आन्दोलनमा उत्रिनुपरेको दंगालले बताउनुभयो । नागरिकहरूले यही जग्गा धितो राखी बैंकबाट ऋण लिएर  व्यवसाय सञ्चालन गर्दै राज्यलाई कर तिरेका छन् । जग्गा रोक्का हुँदा करिब १० हजार नागरिक प्रभावित भएको पाइएको छ  ।